दोहा, भदौ ११-
कतारका अमिरले हालै हस्ताक्षर गरेको घरेलु कामदारसम्वन्धि कानून कत्तिको उदार छ ? यसले कामदारलाई कति अधिकार दिएको छ र के उनीहरुको पर्याप्त मात्रामा संरक्षण गरेको छ ? बहस सुरु भएको छ । कतिपय अधिकारवादी संस्थाहरुले यो सुधार पर्याप्त नभएको प्रतिकृया दिएका छन् ।
पहिलोपटक कतारमा काम गर्ने आया, भान्से, बगैंचे, चालक तथा घरायसी सहयोगिका रुपमा काम गर्ने अन्यका लागि रोजगार करार सम्झौता सहितको कानूनको कतिपयले भनें स्वागत गरेका छन् । दैनिक काम गर्ने समय तोकिनु, तलवको सुरक्षा, रोजगारी अन्त्य गरेर स्वदेश फर्किंदा प्राप्त हुने रकमको व्यवस्थाका कारण यसलाई स्वागत गरिएको छ ।
तर कतारमा श्रम कानूनले समेट्ने कामदारलाई भन्दा नयाँ कानूनले घरेलु कामदारलाई कम अधिकार तथा सुरक्षा दिएको ह्युमन राईट्स वाच तथा एम्नेष्टि ईण्टरनेशनलले बताएका छन् ।
बढी कार्यसमय
नयाँ कानूनले १० घण्टा दैनिक कार्य समय तोकेको छ । यसमा आराम गर्ने समयका बारेमा उल्लेख नहुनु गलत भएको अधिकारवादी संस्थाको भनाई छ । जवकी श्रम कानूनले दैनिक ८ घण्टा तथा हप्तामा ४८ घण्टा कार्यसमय रहने र हरेक ५ घण्टा काम गरिसकेपछि आराम दिनुपर्ने व्यवस्था गरेको छ ।
अतिरिक्त समय काम गरेवापत कुनै भुक्तानीको व्यवस्था नहुनु
घरेलु कामदार सम्वन्धि नयाँ कानूनले कामदार सहमत भएमा अतिरिक्त समय काम लगाउन सक्ने व्यवस्था गरेको छ तर त्यसवापत रोजगारदाताले रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरेको छैन । जवकी श्रम कानूनले त्यसरी अतिरिक्त समय काममा लगाउँदा अतिरिक्त रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । एम्नेष्टि ईण्टरनेशनलले यसले घरेलु कामदारको सुरक्षा हुन नसक्ने धारणा राखेको छ ।
अस्पष्ट विरामी विदा
यद्यपी नयाँ कानूनले विरामी भएको बेलामा कामदारलाई काम गर्न बाध्य पार्नुलाई गैरकानूनी ठहर्याएको छ, तर त्यसरी विरामी विदा लिंदा त्यसवापतको रकम भुक्तान गर्नुपर्ने बारेमा प्रष्ट छैन । श्रम कानूनमा भनें दुई हप्तासम्मको विरामी विदाको पुरा तलव, चारहप्ताको आधा तलव तथा त्यसपछि वेतलवी विरामी विदा दिनुपर्ने व्यवस्था छ ।
गुनासो व्यवस्थापन संयन्त्रको अभाव
कतारले केहि समय अघि गठन गरेको गुनासो व्यवस्थापन संयन्त्रको उपयोग घरेलु कामदारले गर्न पाउँदैनन् किनकी सो संयन्त्रले केवल श्रम कानून अन्तर्गतका विषयहरु मात्र हेर्दछ । त्यसैले घरेलु कामदारलाई कुनै समस्या भएमा त्यसको गुनासो कसले हेर्ने भन्ने प्रष्ट व्यवस्था छैन ।
अनुगमनको व्यवस्था छैन
कुनै रोजगारदाताले घरेलु कामदारसम्वन्धि कानूनको उल्लंघन गरेमा सजाय हुने व्यवस्था त छ तर त्यसका लागि अनुगमनको कुनै व्यवस्था छैन ।
यो पनि पढ्नुहोस्
कतारको नयाँ कानूनमा घरेलु कामदारका लागि यस्तो छ व्यवस्था
