युएई, साउन ३२— आइतबार साँझ मुना डाँगी दुबई अन्तरार्ष्ट्रिय विमानस्थलमा थिइन्। अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी कुवेत उड्न लागेकी थिइन्।
एयर अरेबियाको उडानबाट कुवेत उड्न लागेकी उनले एयरलाइन्सको काउन्टरमा गएर ब्यागेज चेक इन गरिन्। इमिग्रेसन चेकजाँचपछि उनी बोर्ड गर्ने ठाउँमा बसिन्। उनी जहाज पर्खिरहेकी थिइन्। त्यहाँ भेटिइन् अर्की नेपाली चेली दीपिका भण्डारी ।
‘तपाइँ कुवेत के काममा जान लाग्नु भएको?’ दीपिकाको प्रश्नले मुनाको वेदनाको पोको खुल्यो।
‘एक सातासम्म अजमानमा थुनेर राख्यो। त्यसपछि दलालले जबर्जस्ती कुवेत पठाउन लागेको हो’, उनले सुनाइन्। आफू ११ हजार दिराम ९करिब ३ लाख ८ हजार रुपैयाँ० मा बेचिएको र खतरामा रहेको सुनाइन्। मुनाले कुवेत जान नचाहेको पनि सुनाइन्।
‘म काम परेर कुबेत जाँदै थिएँ। बोड हुने ठाउँमा उहाँलाई देखेँ। कुराकानीका क्रममा सोधखोज गर्दा आफूलाई दलालले जबर्जस्ती कुबेत पठाउन लागेको बताउनुभयो’,दीपिकाले भनिन्, ‘उहाँको सबै कुरा बताएपछि मैले विमानस्थल प्रहरीलाई खबर गरेँ।’
दीपिका ६ अगष्टमा युएई आइपुगेकी थिइन्। उनीसँगै अन्य ४ जना महिला पनि दीपिकासँगै दुबई पुगेका थिए। कहाँ जाने र के गर्ने थाहा नहुँदा उनीहरु दुई दिनसम्म विमानस्थलमै अलपत्र परेका थिए। खाना समेत नपाएर दुई दिनसम्म भोकै परेका उनीहरुलाई दलालले दुई दिनपछि रिसिभ गरेको थियो। सुन्दर भविष्यको कल्पनामा नेपाल छोडेकी उनी अजमानको एउटा कोठामा बन्दक भएपछि भने भविष्य सम्झेर त्रसित हुन थालेकी थिइन्। उनीसँगै गएका अन्य ४ जनाको स्थिति के छ उनले आफूलाई थाहा छैन। मुनालाई नेपालबाट दुबई पुर्याउने दलाल सम्झना राई हुन्।
दुवई अन्तरार्ष्ट्रिय विमानस्थल प्रहरीले बोर्ड हुनबाट रोकेकी उनलाई उद्धार गर्न गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष यज्ञबहादुर कार्कीले भूमिका निर्वाह गरेका थिए। नेपाली दूतावास एवं परराष्ट्र मन्त्रालयमा उनले नै जानकारी गराएका थिए। नेपालमा रहेका मुनाका पतिलाई समेत खबर भएपछि उनी मंगलबार साँझ एयर अरेबियाको उडानबाट सारजहाँबाट काठमाडौं फर्किएकी छिन्। नागरिकबाट
