काठमाडौं । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) को १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन सत्रको अध्यक्षता एनएनएसएमका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले गरेका थिए भने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक निर्मल कुमार उप्रेती विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
सभामा सुरक्षित, व्यवस्थित तथा मर्यादित आप्रवासन, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, श्रमिक अधिकार, आप्रवासनमा जलवायु परिवर्तनको प्रभाव तथा आन्तरिक आप्रवासनलगायतका विषयमा छलफल भएको थियो।

साधारणसभाको उद्घाटन सत्रमा विशिष्ट अतिथिका रुपमा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीले आफू श्रमिकमुखी अभियानबाट नै हाल सरकारी जिम्मेवारीमा निश्चित समयाका लागि पुगेको स्मरण गर्दै आफूले सवै सरोकारवालासँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले यसका लागि सरकार, नागरिक समाज, अन्तर्राष्ट्रिय विकास साझेदार तथा निजी क्षेत्रसहितका बहुसरोकारवालासँग सहकार्य गरेर अगाडी बढ्ने बताए। बोर्डका १८ वटा उद्देश्य रहे पनि हालसम्म ति मध्ये सीमित क्षेत्रमा मात्रै प्रभावकारी रूपमा काम हुन सकेको भन्दै अब सबै सरोकारवालाले मिलेर थप विषयमा काम गर्नुपर्ने उनले बताए। श्रमिक समस्यामा परेपछि मात्रै आर्थिक सहायता उपलब्ध गराउने परम्पराको अन्त्य गर्नुपर्नेमा समेत उप्रेतीले जोड दिए। श्रमिकलाई समस्यामा पर्नै नदिने गरी लक्षित र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सञ्जालका संस्थापक अध्यक्ष डा. गणेश गुरुङले जलवायु परिवर्तन र आप्रवासनबीचको सम्बन्धलाई अब प्राथमिकताका साथ उठाउनुपर्ने बताए। हिमताल तथा अन्य जलवायुजन्य चुनौतीले भविष्यमा आप्रवासनका क्षेत्रमा थप असर पार्न सक्ने उल्लेख गर्दै उनले आप्रवासनको मुद्दासँग जलवायु परिवर्तनलाई जोडेर हेर्नुपर्ने बताए। गुरुङले बाह्य आप्रवासनसँगै सञ्जालले अव आन्तरिक आप्रवासनको मुद्दा पनि गम्भीर रूपमा उठाउनुपर्ने आवश्यकता औँल्याए।
सो अवसरमा सञ्जालका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले वैदेशिक रोजगार व्यवसायी संघलगायत सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै वैदेशिक रोजगारलाई थप नैतिक र जिम्मेवार बनाउने प्रयास भइरहेको धारणा राखे । वैदेशिक रोजगारीका क्षेत्रमा चुनौतीहरू आउने भए पनि सहकार्यबाट त्यसको समाधान गर्न सकिने उल्लेख गर्दै उनले श्रमिकको मानव अधिकार कुनै पनि अवस्थामा हनन हुन नहुने बताए। उनले श्रमिकमाथि कुनै किसिमको शोषण र ठगी हुन नहुने धारणा राखे । वैदेशिक रोजगारीमा जानका लागि श्रमिकले ठूलो लागत तिर्नुपर्ने र उक्त लागत उठाउन लामो समय विदेशमा काम गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने न्यौपानेको भनाई थियो ।

सो अवसरमा बोल्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले यूएईले लगाएको प्रहरी रीपोर्ट, साउदी अरबले लागू गर्न खोजेको सीप प्रमाणीकरण तथा बायोमेट्रिक, मलेसियाले लागु गर्न खोजेको सिण्डिकेट लगायतले श्रमिकलाई मारमा पार्ने र समग्र वैदेशिक रोजगार क्षेत्रलाई नै अप्ठ्यारोमा पार्ने धारणा राखे । मलेसियालगायतका गन्तव्य मुलुकमा नेपाली श्रमिकले भोगिरहेका समस्या सम्बोधनका लागि सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। उनले श्रमिकको कल्याणलाई केन्द्रमा राखेर सरकार, व्यवसायी, नागरिक समाज तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।

साधारण सभामा सहभागी अन्य वक्ताहरूले बदलिँदो आप्रवासनका चुनौती सम्बोधन गर्न सरकार, रोजगार व्यवसायी, नागरिक समाज, अन्तर्राष्ट्रिय संघसंस्था तथा अन्य सरोकारवालाबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा आइएलओ नेपालका प्रतिनिधि राम चर्मकार, आइओएम नेपालका प्रतिनिधि प्रज्वल शर्मा, जिआईजेड नेपालकी प्रतिनिधि पस्मा दाहाल झा, सार्टुकका महासचिव लक्ष्मण बस्नेत, सञ्जालकी पूर्वअध्यक्ष मञ्जु गुरुङ, सञ्जालकी उपाध्यक्ष चाँदनी राना लगायतले शुभकामना मन्तव्य राखेका थिए।
साधारणसभाले संस्थाकी महासचिव उमा तामाङले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गंगा लिम्वूले प्रस्तुत गरेको आयव्यय सम्वन्धि प्रतिवेदन सुझावसहित पारीत गरेको थियो ।
सो अवसरमा जलवायु परिवर्तनको प्रभाव, हालै भोटेकोशी नदिमा आएको बाढीले सिर्जना गरेको समस्या तथा आन्तरिक आप्रवासनजस्ता विषयलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने आवश्यकता पनि औँल्याइएको थियो। सो अवसरमा निलाम्वर बडाल, लुवराज न्यौपाने तथा चिरञ्जीवि बरालले जलवायू परिवर्तनले पारेको प्रभावका विषयमा धारणा राखेका थिए ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) ४० वटा गैरसरकारी संस्थाहरुको छाता संस्था हो । यसले विशेषगरी सुरक्षित वैदेशिक रोजगार तथा श्रमिकको अधिकारका पक्षमा वकालत, पैरवी गर्दै आएको छ ।
