काठमाडौं । सुरक्षित वैदेशिक रोजगारी तथा आप्रवासी श्रमिकको अधिकारका क्षेत्रमा क्रियाशील संस्था पौरखी नेपालको नवौं अधिवेशन तथा २४औं साधारणसभा सम्पन्न भएको छ । वैदेशिक रोजगारीबाट फर्केका महिलाहरुको संस्था पौरखीले सो अवसरमा सामाजिक लेखापरीक्षण समेत गरेको थियो ।

साधारणसभामा संस्थाको महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा आर्थिक वर्षको आम्दानी–खर्च विवरण प्रस्तुत गरिएको थियो। साधारणसभामा महासचिव सिन्धु अर्यालले संस्थाका गतिविधि तथा आगामी कार्यदिशाबारे प्रतिवेदन प्रस्तुत गरिन् भने कोषाध्यक्ष राजु गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेकी थिइन्।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रहेका काठमाडौं महानगरपालिका वडा नम्बर ४ का सदस्य नवीन मैनालीले पौरखी नेपालले गरेको कामले वडा गौरवान्वित भएको बताए। स्थानीय तह अझै सिक्ने र काम गर्दै अघि बढ्ने चरणमा रहेको उल्लेख गर्दै उनले समाज परिवर्तनका लागि जनचेतनामूलक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा वैदेशिक रोजगारी, श्रमिक अधिकार तथा आदिवासी जनजातीको अधिकारका क्षेत्रमा लामो समयदेखि सञ्चारकर्म मार्फत योगदान पुर्‍याउँदै आएका पत्रकार कुमार यात्रुलाई सम्मान गरिएको थियो।

पौरखी नेपालकी मञ्जु गुरुङले यात्रुको योगदानबारे चर्चा गर्दै सन् २००२ देखि रेडियो कार्यक्रममार्फत सुरु भएको उनको अधिकारमुखी यात्रा निरन्तर अघि बढिरहेको बताइन्। गुरुङले अधिकारका क्षेत्रमा विभिन्न व्यक्ति तथा संस्थाको सामूहिक योगदानका कारण नीतिगत व्यवस्था गर्न सफल भएको उल्लेख गर्दै अहिलेको डिजिटल युगसँगै वैदेशिक रोजगारीका चुनौतीसमेत परिवर्तन भएको बताइन्। विद्यार्थी भिसा तथा स्थायी बसोबासको आकर्षण देखाएर युवालाई लोभ्याउने प्रवृत्तिबाट हुने ठगी तथा जोखिमका विषयमा पनि काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

“हामी डिजिटलाइजेसनको युगमा छौं, त्यससँगै चुनौती पनि फेरिएका छन्,” गुरुङले भनिन्। बदलिँदो परिस्थितिअनुसार संस्थाले सेवा, नीति तथा कार्यक्रमलाई पनि नयाँ प्रकृतिका चुनौती सम्बोधन गर्ने गरी परिमार्जन गर्नुपर्ने उनले बताइन्।

शुभकामना मन्तव्य राख्दै सार्टुकका महासचिव लक्ष्मण बस्नेतले सरकार, रोजगारदाता र श्रमिकबीच सहकार्य आवश्यक रहेको बताए। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा स्थानीय तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे। श्रमिक तथा आप्रवासी कामदारले आवश्यक सेवा वडा तहबाटै प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालका अध्यक्ष अधिवक्ता कृष्ण प्रािद न्यौपानेले नेपाल विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै युवाका लागि देशमै कामको सुनिश्चितता नहुँदा वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको बताए। वैदेशिक रोजगारीको कुनै पनि चरणमा श्रमिक शोषणमा पर्न नहुने भन्दै उनले श्रमिकमुखी नीति निर्माणमा जोड दिए।

पौरखी नेपालकी अध्यक्ष सत्र कुमारी गुरुङले संस्थाले सूचना तथा परामर्शका लागि हटलाइन सेवा सञ्चालन गरिरहेको बताइन्। संस्थाले फर्किएका आप्रवासी कामदारलाई संगठित गर्न सकेकोमा खुसी व्यक्त गर्दै उनले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई उद्धार, आश्रय तथा स्वदेश फिर्तीका लागि संस्थाले काम गरिरहेको जानकारी दिइन्। उनले संस्थाले सञ्चालन गरिरहेको सेल्टरका लागि पर्याप्त सहयोग तथा दातृ निकायको अभाव रहेको बताउँदै आवश्यक सहयोगका लागि सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्। साथै, आप्रवासी श्रमिकका समस्यालाई सम्बोधन गर्न सरकारबाट देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउनुपर्नेमा जोड दिइन्।

सिन्धु अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

अधिवेशनबाट सिन्धु अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निर्जला भट्टराई महासचिव, राजु गुरुङ कोषाध्यक्ष तथा दुर्गा पोखरेल, सुनिता लामिछाने, सुशीला राना र निर्मला गुरुङ सदस्यमा चयन भएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय