काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान सातौं दिन पनि निरन्तर जारी छ। बाढीका कारण विस्थापित हाल भई हाल नागार्जुन नगरपालिका–२ काठमाडौँ स्थित पहिलो गुम्बा आश्रय लिइरहेका परिवार तथा बालबालिकाको दैनिक जीवन सहज बनाउन एनआरएनएको तर्फबाट ६ वटा कूलर र दुई थान डीप फ्रिज हस्तान्तरण गरिएको संघको सचिवालयले जनाएको छ। कूलरले आश्रयस्थलमा बसिरहेका परिवार तथा बालबालिकालाई गर्मीबाट राहत पुर्‍याउने र डीप फ्रिजमार्फत खाद्यान्न तथा तरकारी सुरक्षित रूपमा भण्डारण गर्न सहयोग पुगोस् भन्ने अभिप्रायले उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

एनआरएनएका अध्यक्ष डा हेम राज शर्माले गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष उर्केन छिरिङ तामाङलाई उक्त सामाग्री हस्तान्तरण गरे । यसैगरी बाढी तथा डुबानबाट प्रभावित महिलाहरूको स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै १०० प्याकेट सेनेटरी प्याडसमेत हस्तान्तरण गरिएको थियो ।

नुवाकोटमा स्वास्थ्य शिविर
एनआरएनएको आयोजना एवं नेपाल मेडिसिटी अस्पताल र ललितपुर महानगर अस्पतालको सहकार्यमा बाढी प्रभावित नुवाकोटको बाघटारमा सञ्चालन हुने स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ। एनआरएनएको सचिवालयमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री गिरबहादुर तामाङसँग भएको छलफलपछि बागमती प्रदेश सरकारको समन्वयमा त्रिशुली प्रादेशिक अस्पतालमा हुन लागेको सो शिविरको नेतृत्व ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेल र एनआरएनए आईसीसी सदस्य डा. सञ्जीव सापकोटाले गर्नेछन् । शिविरमा करिव २५० प्रभावित परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण, सरसफाइ सचेतनाका साथै विपद् व्यवस्थापन र प्राथमिक उपचार तालिम प्रदान गर्ने संघले जनाएको छ।

स्थानीय प्रतिनिधिसँग संवाद
विनाशकारी बाढीबाट प्रभावित रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल र रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नम्बर ४ (धुसेनी) का वडा अध्यक्ष खेसम तामाङसँग भेट गरी उनीहरूको वर्तमान अवस्था, समस्या तथा तत्काल आवश्यकताबारे संघले जानकारी लिएको छ। एनआरएनएको सचिवालयमा भएको भेटका क्रममा प्रभावित नागरिकलाई आवश्यक सहयोग कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको जनाइएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र१ करोड रकम हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेम राज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो। गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), बाट संकलित रकममध्ये संघले पहिलो चरणमा र१ करोड प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय