काठमाडौं — निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने उद्देश्यले आवश्यक अध्ययन र सुधारको प्रक्रिया अघि बढाएको छ। यसका लागि आयोगले कानुनी र सूचना प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्न विद्यमान कानुनी व्यवस्था, प्रविधिको प्रयोग तथा आवश्यक सुधारका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न समितिहरू गठन गरिएको हो।

आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा गठित समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहनेछन्। त्यस्तै, निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा गठित अर्को समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्युरो नेपाल प्रहरीलगायत निकायका प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ।

आयोगका अनुसार दुवै समितिले काम सुरु गरेको ३० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्नुपर्नेछ। समितिहरूले विदेशमा रहेका नेपालीको मतदान अधिकार कार्यान्वयनका लागि आवश्यक कानुनी आधारदेखि प्रविधिको प्रयोगसम्मका विषयमा अध्ययन गर्नेछन्।

विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्ने विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ। आयोगले गठन गरेका समितिको अध्ययन र त्यसबाट आउने सुझावले विदेशमा रहेका नेपालीको मताधिकार कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्राविधिक आधार तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय