काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको ध्यान नेपालमा नै मर्यादित रोजगारी सिर्जना गर्न केन्द्रित रहेको बताएका छन् । यसका लागि आन्तरिक रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाई छ ।

राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यसका लागि श्रम क्षेत्रको नियमन र रोजगार प्रवद्र्धनका कार्यक्रमलाई तीव्र बनाएको बताए । श्रम अधिकार, मर्यादित काम र श्रमिक सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न श्रम निरीक्षणलाई रणनीतिक प्राथमिकता दिएको उनको भनाई छ ।

मन्त्री यादवले पछिल्लो एक सय दिनमा १ हजार ३ सय २१ प्रतिष्ठानमा श्रम निरीक्षण गरिएको, श्रमिकका उजुरी, निवेदन तथा निरीक्षणका क्रममा श्रम शोषणसम्बन्धी कारबाहीबाट जरिवाना र सहमतिबापत ४ करोड ४० लाख ९६ हजार २०५ रुपैयाँ असुल गरिएको पनि जानकारी दिए । श्रम निरीक्षणको दर ६० प्रतिशतले वृद्धि भएको उनको भनाई थियो ।

श्रम क्षेत्रको नियमनमा कारबाहीसँगै प्रोत्साहनको नीति पनि अपनाइएको उनको भनाइ छ । यससँगै राष्ट्रिय रोजगार नीति–२०७१ लाई समयानुकूल बनाउने उद्देश्यले राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए । साथै, नेपालमै पहिलो पटक केयर इकोनोमी नीति बनाउने प्रक्रिया सुरु गरिएको उनको भनाई थियो ।

जावला दिने क्रममा मन्त्री यादवले भने, ‘मन्त्रालयले आन्तरिक रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । सरकारले २०८३ देखीको दशकलाई रोजगार प्रवर्द्धन दशकको रूपमा घोषणा गरिसकेको छ । राष्ट्रिय रोजगार नीति, २०७१ लाई समयसापेक्ष बनाउन राष्ट्रिय रोजगार नीति, २०८३ को मस्यौदा तयार भइरहेको छ ।’

उनले वैदेशिक रोजगारीलाई पनि मर्यादित बनाउन सरकारले काम गरिरहेको बताए । उनकाअनुसार वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाहरू धमाधम फस्र्यौट भइरहेका छन् । पछिल्लो तीन महिनामा १ हजार ४ वटा संस्थागत तथा व्यक्तिगत उजुरीमाथि कारबाही गरि ३० करोड ७ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराइएको उनले जानकारी दिए ।

उनकाअनुसार चालु आर्थिक वर्षको साउनदेखी चैतसम्म ८ सय ८२ वटा मुद्दा फर्छ्योट हुँदा १२ करोड ६७ लाख रुपैयाँ क्षतिपूर्ति भराइएको थियो । पछिल्लो ३ महिनाको अवधिमा मुद्दा अनुसन्धान र फर्छ्योट दर २ सय ४१ प्रतिशत र पीडितले क्षतिपूर्ति प्राप्त गर्ने दर ६ सय ७२ प्रतिशतले बढेको उनले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय