दाङ । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो। दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छिन्।

पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ। कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको ढोका नढकढक्याईं सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागतीखेतीका आधुनिक विधि सिकिन्। त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरिन्। भन्छिन्, “मैले युट्युबबाट धेरै कुरा सिकेँ, त्यसबाट आत्मविश्वास बढ्यो र खेती सुरु गर्ने निर्णय गरेँ।”

सुरुआती वर्षमा उत्पादन कम भए पनि उनी निराश भइनन्। बोटको नियमित हेरचाह, सिँचाइ र प्राङ्गारिक मलको प्रयोगलाई निरन्तरता दिइरहिन्। त्यसको प्रतिफलस्वरूप गत वर्ष सबै खर्च कटाएर करिब रु एक लाख ५० हजार आम्दानी गर्न सफल भइन्।

यस वर्ष भने बगैँचाका अधिकांश बोट फलले लटरम्म छन्। उत्पादन बढेकाले आम्दानी रु दुई लाखसम्म पुग्ने अपेक्षा उनको छ। “गत वर्षभन्दा यसपालि धेरै राम्रो फल लागेको छ, मेहनतको प्रतिफल देखिन थालेको छु”, उनले सुनाइन्।

अहिले उनले विभिन्न कृषिसम्बन्धी सङ्घसंस्था र सरकारी निकायबाट पनि प्राविधिक सहयोग पाउन थालेकी छिन्। झोल मल, गोठे मल र गड्यौला मलको प्रयोग गरेर प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिएर प्रयोग गरिरहेकी छिन्। यसले उत्पादनको गुणस्तर सुधारिनुका साथै लागत पनि घटेको उनको अनुभव छ।

सुलोचनाको बुझाइमा अहिले सूचना र प्रविधिको पहुँच गाउँसम्म पुगेको छ। त्यसलाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप सिक्ने माध्यमका रूपमा उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ।

उनको सफलताले आधुनिक प्रविधिको सही उपयोगले गाउँमै बसेर पनि रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। कुनै समय मनोरञ्जनका लागि चलाइएको मोबाइल आज उनका लागि खेतीको गुरु बनेको छ भने कागती बगैँचाले उनको जीवनमा आर्थिक आत्मनिर्भरताको नयाँ अध्याय लेखिदिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय