काठमाडौं । गएको वैशाख महिनामा दुई खर्ब ५७ अर्ब विप्रेषण (रेमिटेन्स) का रुपमा नेपाल भित्रिएको छ । विगत दुई महिनादेखि लगातार रुपमा मासिक दुई खर्बभन्दा धेरै रकम रेमिटेन्सका रुपमा भित्रिरहेको हो। चैत महिनामा दुई खर्ब नौ अर्ब रेमिटेन्स भित्रिएको थियो।
चालु आर्थिक वर्ष २०८२ ८३ को १० महिना (साउनदेखि वैशाख) सम्ममा नेपालमा जम्मा १९ खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्ष २०८१ ८२ यही अवधिमा भने १३ खर्ब ५७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। गत आर्थिक वर्षको तुलनामा रेमिटेन्स ४१ प्रतिशतले बढेको हो। साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
यो १० महिनामा नौ अर्ब ७५ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा ८ अर्ब ७१ करोड रूपैयाँ बाहिरीएको थियो।
यो १० महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि ३.५० प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको यही अवधिका ६ लाख ८५ हजार जनाले नयाँ र पुन श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ६ लाख ६१ हजार यस्तो स्वीकृति लिएका छन्।
इरान र इसाराइलमा जारी द्वन्द्वको कारण केही समयअघि वैदेशिक रोजगारी प्रभावित भएकोले जानेको संख्या घटेको हो।
