काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने नाममा रकम उठाएर ठगी गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुले मौरिसस, सेसेल्स, युएई, कम्बोडिया लगायतका मुलुक पठाइदिने आश्वासनमा रकम उठाएको अभियोग छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा गोरखाका रोशन बाबु मल्ल, नुवाकोटका गोवर्धन नेपाली, बर्दियाका प्रकाश सिंखडा र राजेश क्षेत्री, मकवानपुरका तिर्थमान भ्लोन, नुवाकोटका उपेन्द्र तामाङ, सुनसरीका उज्वल थापा मगर, लमजुङका ज्योती गुरूङ र पाल्पाका राजिव न्यौपाने रहेका छन् ।
पक्राउमध्ये तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना व्यक्तिहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैया, राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना व्यक्तिहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैया, रोशनले अमेरिका पठाइदिने नाममा एक जना व्यक्तिबाट ४ लाख रूपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना व्यक्तिबाट १ लाख रूपैयाँ, उज्वलले क्यानडा पठाइदिन्छ भन्दै एकजना व्यक्तिबाट २ लाख ५७ हजार रूपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै एकजना व्यक्तिबाट ३ लाख ५० हजार रूपैयाँ, ज्योतीले युएई पठाइदिन्छु भन्दै एकजना व्यक्तिबाट २ लाख ५० हजार रूपैयाँ र राजिवले क्यानडा पठाइदिन्छु भन्दै एकजना व्यक्तिबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका मध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ र रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको भनाई छ।
