काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरुले सरकारले अनुगमनको नाममा छापामार शैली अपनाएको भन्दै त्यसको विरोध गरेका छन् । अनुगमनको नाममा श्रम मन्त्रालय, मन्त्रीको सचिवालय लगायतबाट छापामारशैली अपनाएर व्यवसायीमलाई अनावश्यक दुखः दिने काम भएको उनीहरूको गुनासो छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हरिबहादुर पाण्डेले राज्यले छापामार शैलीमा अनुगमन गरिरहेको तर्क गरे । वैदेशिक रोजगार व्यवसायको अनुगमन वैदेशिक रोजगार विभाग मार्फत हुनुपर्नेमा क्षेत्राधिकार मिचेर श्रम मन्त्रालय र मन्त्रीको सचिवालयबाट छापामार शैलीमा अनुगमनको नाममा त्रास फैलाउने काम भइरहेको उनको भनाई थियो ।

‘हामीलाई अनुगमन गर्ने विभाग हो, मन्त्रालय होइन, राज्यले अनुगमन होइन छापामार शैली अपनाइरहेको छ’ अध्यक्ष पाण्डेले भने। राज्यले तोकेको १० हजार सेवा शुल्क निर्णय अहिलेसम्म आफूहरूले स्वीकार नगरेको उनले प्रष्ट पारे। ‘१० हजार सेवा शुल्कमा हामीले कामदार पठाउन सक्दैनौँ’ उनले भने ‘यसमा हामीले राज्यलाई चुनौती नै दिएको हो ।’

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले व्यक्तिगत श्रम स्वीकृतिका कारण ठगीका घटना बढिरहको अवस्थामा व्यवसायीमाथि ठगीको आरोप लाग्ने गरेको बताए । सरकारले छापा मार्नुभन्दा पहिला नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ। नीतिगत सुधारका लागि लामो समयदेखि आवाज उठाउँदै आएको तर, राज्यले अहिलेसम्म सुनुवाइ नगरेको उनले बताए ।

संघका पूर्व प्रथम उपाध्यक्ष डिक बहादुर खत्रीले २०७२ सालको नीतिगत व्यवस्था परिवर्तन, २०६४ सालको ऐन तथा २०७५ सालको नियमावली संशोधन नहुँदासम्म काम गर्न नसकिने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय