काठमाडौं । साइवर स्क्याममा परेर कम्बोडिया, म्यानमार लगायतका मुलुकहरुमा पुग्ने नेपालीको उद्धार अव थप असहज हुने भएको छ । कम्बोडियाले साइवर स्क्यामलाई नियन्त्रण गर्न गत मार्चमा निक्कै कडा दण्ड सजाय सहितको कानुन पारीत गरेको छ । नयाँ कानुनमा नेपाल लगायतका विभिन्न मुलुकबाट आकर्षक रोजगारीको प्रलोभनमा परेर कम्बोडिया पुग्ने विदेशी नागरिकहरुलाई पनि कडा सजायको व्यवस्था छ ।

कम्बोडिया सरकारले सन् २०२६ मा पारीत गरेको ल अन कम्ब्याटिङ टेक्नोलोजी बेस्ड फ्रडले अनलाइन ठगी, टेलिकम स्क्याम, डेटा चोरी, जबर्जस्ती श्रम लगायतका साइबर अपराधलाई सम्वोधन गरेको छ । नयाँ कानुन अनुसार अनलाइन स्क्याम सञ्चालन गर्ने वा गिरोह चलाउने व्यक्तिलाई ५ देखि १० बर्षसम्म कैद र ठूलो आर्थिक जरिवानाको व्यवस्था छ । स्क्यामका कारण कसैको मृत्यु भएमा १५ देखि ३० बर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सो कानुनले स्क्याम कार्यमा संलग्न हुने तल्लो तहका कर्मचारीहरु (स्क्यामर) लाई दुई देखि ५ बर्षसम्म कैद सजाय र नेरु करिव १ करोड ९० लाख बरावर जरिवानाको व्यवस्था छ । यसले विभिन्न प्रलोभनमा पारेर मानव तस्करले ल्याउने विदेशी नागरिक (आप्रवासी) लाई थप समस्यामा पार्नेछ ।

मानव बेचविखन अनुसन्धान व्यूरोका अनुसार कम्बोडिया र म्यानमारबाट देशनिकाला (डिपोर्ट) गरिएका र उद्धार गरिएकाहरुको संख्या पछिल्ला केहि बर्षयता ठूलो छ । आर्थिक बर्ष २०८०/८१ यता मात्र कम्बोडियाबाट २ सय ३२ जना तथा म्यानमारबाट १ सय ६ जना नेपालीलाई देशनिकाला गरिएको छ । यसैगरी पछिल्लो तीन आर्थिक बर्षमा दक्षिण पूर्वी एसियाका मुलुकहरु (मुख्यतः कम्बोडिया र म्यानमार) बाट ९६ जना नेपालीको उद्धार गरिएको व्यूरोको तथ्याङ्क छ । व्यूरोका प्रहरी उपरीक्षक हरिबहादुर ओली विभिन्न प्रलोभनमा पारेर साइवर स्क्याम सेण्टरमा पुर्याइने नेपालीको संख्या निक्कै ठूलो रहेको अवस्थामा कम्बोडिया सरकारको नयाँ कानुनले उद्धार अझ जटिल हुने अवस्था आएको बताउँछन् ।

शुभअवसर ग्राम नेपालका कार्यक्रम प्रवन्धक विकास ढुँगाना एआईको पुस्ता र सामाजिक सञ्जालको प्रयोगले डिजिटल माध्यम मार्फत हुने मानव तस्करी र ठगीका घटनालाई बढाएको बताउँछन् । उनले सामाजिक सञ्जालको दुरुपयोग अत्यन्तै बढेको भन्दै यसको प्रयोगका विषयमा जनचेतना आवश्यक रहेको बताए ।

मानवअधिकारवादी संस्थाहरुले भनें नयाँ कानुनले जबर्जस्ती श्रम र साइवर स्क्याम नेटवर्कमा झुक्याएर पुर्याइएका आप्रवासी श्रमिकलाई अप्ठ्यारो पार्ने भन्दै यसको आलोचना गरेका छन् । ति संस्थाले साइवर स्क्याम सेण्टरलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकेको अवस्थामा ल्याइएको कानुनले पीडितलाई थप समस्यामा पार्न सक्ने जनाएको रोयटर्सले जनाएको छ ।

अमेरिकाबाट ९६३ जना निश्काशित

मानव तस्करको फन्दामा परेर विभिन्न माध्यम हुँदै अनियमित रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेका ९ सय ६३ नेपालीलाई अमेरिकाले देशनिकाला गरी नेपाल पठाएको छ । मानव बेचविखन अनुसन्धान व्यूरोका अनुसार त्यसरी निश्कासन गरिएका मध्ये सवैभन्दा बढी दाङ (२८७) जिल्लाका रहेका छन् । यसैगरी रुकुम पश्चिम (२११) र रुकुम पूर्व (८४) का रहेको व्यूरोले जनाएको छ ।

व्यूरोका प्रहरी उपरीक्षक ओली डिजिटल माध्यम मार्फत सम्पर्क गर्ने र मानव तस्करको फन्दामा परेर विभिन्न मुलुक जाने नेपाली नेपाल फर्केपछि पनि अधिकाँशले आफूलाई त्यसरी लैजाने व्यक्तिका विरुद्धमा उजुरी नै गर्न नचाहने समस्या रहेको बताउँछन् । यसले अनुसन्धानमा समस्या सिर्जना हुने गरेको र मानव तस्करलाई पक्राउ गर्न गाह्रो परिरहेको उनको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय