काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि सवैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा मात्र रोजगारीका लागि सो मुलुक जान २३ हजार ८३८ जनाले श्रम स्वीकृति लिएका छन्। यसरी श्रम स्वीकृति लिनेहरु मध्ये २० हजार ३५७ जना पुरुष छन् भनें तीन हजार ४८१ जना महिला छन् ।
युएईपछि नेपालीको दोस्रो महत्वपूर्ण गन्तव्य अर्को खाडी मुलुक कतार देखिएको छ । साउनमा रोजगारीका लागि कतार जान १२ हजार ८४ जनाले श्रम स्वीकृति लिएका छन् । यसरी श्रम स्वीकृति लिनेहरु मध्ये ११ हजार ५४ जना पुरुष र एक हजार ३० जना महिला छन् । तेस्रोमा साउदी अरेबिया रहेको छ । सो मुलुकका लागि ९ हजार ८ सय ८५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये ९ हजार ८१० जना पुरुष र ७५ जना महिला छन् ।
चौथो मुख्य गन्तव्य रहेको मलेसियाका लागि पाँच हजार ६२३ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि श्रम स्वीकृति लिनेहरु मध्ये पाँच हजार ५४८ जना पुरुष र ७८ जना महिला छन् । कुवेत पाँचौंमा परेको छ, जहाँ २ हजार ७९२ जना पुरुष र एक हजार २७८ जना महिला गरी कूल चार हजार ७० जनाले श्रम स्वीकृति लिएका छन् ।
साउन महिनामा व्यक्तिगत श्रम स्वीकृति लिएर सबैभन्दा बढी युएई नै गएका छन् । साउनमा एक हजार ६१६ जना पुरुष र ८३२ जना महिला गरी कूल दुई हजार ४४८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर युएई गएका हुन् । युएईपछि जापानमा रोजगारीका लागि एक हजार ९२१ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएको तथ्यांकमा उल्लेख छ । जापान पछिल्लो समय नेपालीहरुको आकर्षक रोजगार गन्तव्य बन्दै गएको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर क्रोएसियामा एक हजार २८३ जना रोजगारीका लागि गएका छन् । जसमा ९९० जना पुरुष र २९३ जना महिला छन् । यसैगरी कतारमा ९९१ जना र रोमानियामा ८४६ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका विभागले जानकारी दिएको छ ।
विभागको तथ्यांकअनुसार साउनमा जिटुजी प्रणालीमार्फत दक्षिण कोरियामा ७८९ गएका छन् । कोरिया जानेमा ६९४ जना पुरुष र ९५ जना महिला छन् । कोरियामा व्यक्तिगत श्रम स्वीकृति लिएर ७८ जना गएको तथ्यांक छ, जसमा चार जना महिला छन् । त्यसैगरी, जिटुजीमार्फत ३० जना पुरुष र पाँच जना महिला गरी जम्मा ७५ जना इजरायल गएका छन् । साउनमा व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर जम्मा १०५ वटा मुलुकमा नेपालीहरु गएका छन् । म्यानपावर कम्पनीहरुले विभिन्न १२ वटा मुलुकमा श्रमिक पठाएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर युवाहरु ८८ वटा मुलुकमा रोजगारीका लागि पुगेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर ३८ वटा मुलुकमा १० जनाभन्दा कम श्रमिक गएका छन् भने १५ वटा मुलुकमा एक जनामात्र श्रमिक गएका छन् ।
जिल्लागत तथ्यांकअनुसार रोजगारीका लागि सबैभन्दा बढी धनुषाबाट तीन हजार ३४८, झापाबाट दुई हजार ९६१, सिरहाबाट दुई हजार ८५५, महोत्तरीबाट दुई हजार ७४३ र मोरङबाट दुई हजार ७०७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । सबैभन्दा कम मुस्ताङबाट ३० जनाले श्रम स्वीकृति लिएका छन् । महिलाको तथ्याँक अनुसार सबैभन्दा बढी झापाबाट ७१० जना, दोस्रोमा मोरङबाट ५१२, तेस्रोमा सिन्धुपाल्चोकबाट ४१५, चौथोमा मकवानपुरबाट ४१० जना र पाँचौंमा काभ्रेबाट ३३२ जना रहेका छन् ।
