काठमाडौं । वैदेशिक रोजगार बोर्डले गत आर्थिक बर्षमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४ सय ५८ युवालाई निःशुल्क सीप विकास तालिम प्रदान गरेको छ । बोर्डले सो आर्थिक बर्षमा १५ हजार युवालाई निःशुल्क सीप विकास तालिम दिने लक्ष्य राखेको थियो ।
बोर्डले दिएको जानकारी अनुसार एक आर्थिक बर्ष भित्रमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवार र वैदेशिक रोजगारबाट फर्केका ४ हजार ५ सय ६१ व्यक्तिलाई सीप विकास तालिम पनि प्रदान गरेको छ । बोर्डका अनुसार ५ हजार व्यक्तिलाई गत आर्थिक बर्षभित्रमा तालिम दिने लक्ष्य राखिएको थियो ।
यसैगरी ८ सय ७८ जना वैदेशिक रोजगारीमा जान चाहने महिला कामदारका लागि आवासीय तालिम पनि सञ्चालन गरिएको बोर्डले जानकारी दिएको छ ।
गत आर्थिक बर्षमा बोर्डबाट १ हजार २ सय ५० मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ । यसैगरी १ हजार १ सय ८० वटा शव मृतकको घर ठेगानासम्म ढुवानी गरिएको पनि जनाइएको छ ।
यसैगरी अंगभंग, बिरामी भएका ६ सय ९८ कामदारलाई आर्थिक सहायता प्रदान गरिएको, २ सय ७५ कामदारका परिवारलाई स्वास्थ्य उपचार सहयोग उपलव्ध गराइएको, ३ हजार ९ सय ९० जना विद्यार्थीलाई वैदेशिक रोजगार सन्तती छातबृत्ति सहायता प्रदान गरिएको पनि बोर्डले जनाएको छ । यसबीचमा ७० वटा अलपत्र शव झिकाउने । एकजना अलपत्र कामदारको उद्धार गरिएको बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका प्रसाद उप्रेतीले जानकारी दिए ।
बोर्डले आगामी आर्थिक बर्षमा रिटर्नी उद्यमी आईडल कार्यक्रम सञ्चालन गर्ने, वैदेशिक रोजगार तथा कल्याणकारी कार्यसम्बन्धमा प्रकाशित लेख रचना तथा प्रशारित भिडियो सामग्रीहरु मूल्याँकन गरी पुरस्कृत गर्ने लगायतका कार्यक्रमहरु तय गरेको छ ।
