चितवन । स्याहारको क्षेत्रको कामलाई कामका रुपमा गणना नै नगरिनु वा बेवास्ता गरिनुले सो क्षेत्रमा कार्यक्रम श्रमिकहरु विभेदमा परेको देखिएको छ । नेपालमा कति श्रमिक स्याहारको क्षेत्रमा काम गर्दछन् भन्ने व्यवस्थित र यकिन सरकारी तथ्याङ्कको अभावका कारण पनि आवश्यक नीति बनाउन ढिलाई भइरहेको छ ।
विशेषगरी घरेलु श्रम, नर्सिङ सेवा, मण्टेश्वरीमा कार्यरतहरु, महिला स्वास्थ्य स्वयंसेविका लगायतले स्याहारको क्षेत्रमा काम गरिरहेको भन्दै तर उनीहरुले तलव नै नपाउने वा न्यून तलवमा काम गर्नुपर्ने, रोजगारीको अनिश्चितता, सामाजिक सुरक्षाबाट वञ्चित हुनु पर्ने लगायतका समस्या भोग्नु परिरहेकोमा सरोकारवालाहरुले चासो देखाएका छन् ।
पौरखी नेपालले जिआईजेडको आर्थिक सहयोगमा आयोजना गरेको बहुसरोकारवालाबीचको छलफलमा बोल्दै बागमती प्रदेश साँसद ईश्वर सापकोटाले स्वदेशकै रोजगारीलाई प्राथमिकता दिएर काम गर्न जरुरी रहेको धारणा राखे । उनले नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै कमजोर रहेको भन्दै महिलाले ज्याला प्राप्त नभइ गर्ने कामलाई कामको रुपमा गणना नै नगरिएको बताए । हिजोको भन्दा शोषण गर्ने प्रवृत्ति फेरिएको भन्दै तर शोषणको शिलशिला जारी नै रहेको उनको भनाई थियो ।
छलफलका सहभागिहरुले स्याहारको क्षेत्रमा काम गर्ने बहुसंख्यक श्रमिक असंगठित हुनु, आवश्यक स्वास्थ्य सुरक्षाको सामग्री÷उपकरण अभाव, कानुनी र नीतिगत प्रवन्धको कमी, स्वदेशमा लैंगिक, जातीय लगायतका आधारमा तथा विदेशमा लैंगिक तथा मुलुक आधारित रहेर गरिने विभेद प्रमुख समस्या रहेको बताए ।
सो अवसरमा बोल्दै माडी नगरपालिकाकी प्रमुख तारा कुमारी राजी महतोले महिलालाई प्राथमिकतामा राखेर काम गर्न जरुरी रहेको बताइन् । उनले महिलालाई सीप र आयआर्जनसँग जोड्न जरुरी रहेको भन्दै आफ्नो नगरपालिकाले महिलालाई सीप र आयआर्जनका लागि बीउ पुँजी समेत उपलव्ध गराइरहेको बताइन् । अपाङ्गता भएका बालबालिकाहरुका लागि आवासिय विद्यालय सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन रकम लगायतको व्यवस्था गरेको उनको भनाई थियो ।
छलफलमा बोल्दै पौरखी नेपालकी रणनीतिक सल्लाहकार मञ्जु गुरुङले श्रम गर्ने उमेरको व्यक्तिलाई नेपाल भित्रै अडिन सक्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताइन् । तर बाध्यतावस वैदेशिक रोजगारीमा गइरहेकाहरुलाई सुरक्षित, सीपयुक्त बनाउन आवश्यक रहेको उनको भनाई थियो । नेपालभित्रै स्याहारको काममा लिङ्ग, जात, भाषा लगायतका आधारमा विभेद भइरहेको भन्दै त्यसलाई हटाउन पनि काम गर्नुपर्नेमा गुरुङको जोड थियो ।
छलफल सहजिकरण गर्दै पत्रकार सुनिल न्यौपानेले विश्वमा वृद्धि भइरहेको ज्येष्ठ नागरिकहरु तथा अशक्तता भएकाहरुको संख्या र आर्थिक रुपमा सम्पन्न मुलुकमा महिलाले गर्दै आएको काममा भएको फेरवदलका कारण स्याहारको काम गर्ने श्रमिकहरुको मागमा तिव्र वृद्धि भएको बताए । शहरी क्षेत्र र आर्थिक रुपमा सम्पन्न मुलुकहरुमा स्याहारको काममा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई स्याहारको काम दिएर धनी परिवारले बढी आम्दानी हुने काममा संलग्न हुने अवसर प्राप्त गरेको उनको भनाई थियो । तर आर्थिक रुपमा सम्पन्न मुलुकहरुमा रहेको माग पूरा गर्न आर्थिक रुपमा कमजोर मुलुकबाट श्रमिकहरु स्याहारको काममा जाने गरेका कारण उद्गम मुलुकहरुमा केयर ग्याप’ (स्याहारको अन्तर) समेत देखापरिरहेको पत्रकार न्यौपानेले बताए ।
