काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई हटाएका छन् । रास्वपाको केन्द्रीय अनुशासन आयोग र पार्टी सभापति रवि लामिछानेको सिफारिसपछि प्रधानमन्त्री शाहले मन्त्री साहलाई हटाएका हुन् ।
पार्टी आचारसंहिता र अनुशासनविपरीत काम गरेको पाइएपछि पार्टीले मन्त्री शाहलाई हटाउन सिफारिस गरेको हो । त्यसपछि मन्त्री साहलाई हटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए।
रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ। साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।
मन्त्री साहले पार्टी अनुशासन र आचारसंहिताविपरीत श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै सभापति लामिछानेसमक्ष कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई सिफारिस गरेका हुन् ।
