काठमाडौं । कम्बोडियामा भिसा विना नै बसिरहेका सातजना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डमा रहेको नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघसँगको सहजीकरणमा उनीहरुलाई नेपाल फर्किन सहजीकरण गरेको हो ।

उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ । दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना आएको र उनीहरुको पहिचान गरी नेपाल फर्काउने प्रयास भइरहेको उल्लेख गरेको छ ।

‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा ती केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरै जनाको गुनासो आएको भनाइ दूतावासको छ । ‘‘नेपाल फर्किनेलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानसमेत दूतावासले अनुरोध गरेको छ । विशेषगरी आकर्षक प्रलोभनमा पारेर कम्बोडियामा धेरै नेपालीलाई पुर्याएर अनलाइन स्क्याम लगायतका काममा संलग्न गराउने र बन्धकजस्तै बनाएर जवर्जस्ती काममा लगाउने गरिएको छ । यस अगाडी पनि सो मुलुकबाट सयौं नेपाली फिर्ता भइसकेको छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय