काठमाडौं । काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् । उनी महोत्तरीबाट निर्वाचित साँसद हुन् ।
महोत्तरी क्षेत्र नम्वर २ मा निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीलाई २२ हजार भन्दा बढी मतान्तरले हराएका साह दृष्टिरोग विशेषज्ञ हुन् । महोत्तरीको महोत्तरी गाउँपालिका ६ मा जन्मिएका साहले एएलसीसम्म जनकपुरको मोनास्टिक हायर सेकेण्डरी बोर्डिङ स्कूलमा पढेका हुन् । उनले उच्च शिक्षा काठमाडौंमा पूरा गरेका थिए ।
जनस्वास्थ्य विषयमा त्रिवि शिक्षण अस्पतालबाट स्नातक र स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका साह थप अध्ययनका लागि बेलायत गए । बेलायतमा लन्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ फाइनान्सिङ र हेल्थ इकोनोमिक्सका साथै लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट उनले पीएचडी गरेका छन् ।
नेपाल फर्किएपछि उनले शिक्षण अस्पतालमा काम गरे । यसका साथै विश्व बैंक, विश्व स्वास्थ्य संगठन, एफएचआई ३६० जस्ता संघसंस्थामा समेत काम गरिसकेको अनुभव छ । कोरोना महामारीको बेला उनी विश्व स्वास्थ्य संगठनमा आबद्ध थिए ।
