काठमाडौँ । राहदानी विभागले राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई आफूले रोजेको समयमा सेवा लिन आग्रह गरेको छ । अनलाइन फाराम भर्दा उल्लेख गरेको भन्दा फरक समयमा सेवाग्राही आउन थालेपछि मंगलबार विभागले सूचनामार्फत यस्तो आग्रह गरेको हो ।
राहदानीको फाराम भर्दा आफूले छनौट गरेको समयमा उपस्थित हुने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिइने विभागको सूचनामा जनाइएको छ । विभागले यस्ता सेवाग्राहीहरूको आवेदन प्रक्रिया सामान्यतः एक घण्टाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।
सूचनामा उल्लेख भए अनुसार, यदि कुनै सेवाग्राही आफूले छनौट गरेको निश्चित समयमा उपस्थित हुन नसकेमा उनीहरूलाई क्रमशः (उपलब्ध समय र पालो अनुसार) मात्र सेवा दिइनेछ । यसले गर्दा समयको पालना गर्ने सेवाग्राहीहरूले बिना झन्झट छिटो सेवा पाउने निश्चित भएको छ ।
समय सेवाग्राहीले भरेको आवेदन फारामको दायाँतर्फ पुछारमा हेर्न सकिने जनाइएको छ । “निर्धारित भेट समयमा आउनुभई छिटो र चुस्त सेवा लिने/प्रदान गर्ने विभागको प्रयासलाई सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ,” विभागले भनेको छ ।