काठमाडौँ । युरोपेली मुलुकमा रोजगारीमा पठाउने आश्वासन दिएर रकम ठगेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–८ बस्ने ४३ वर्षीया उपासना भण्डारी तथा कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–११ बस्ने २३ वर्षीय युवराज कुँवर रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेकी भण्डारीले क्रोएशिया पठाउने भन्दै रु १२ लाख तथा कुँवरले ग्रीस पठाउने भन्दै रु १९ लाख रकम लिइ फरार रहेको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।
पछिल्लो समयमा सामाजिक सञ्जाल तथा व्यक्तिगत चिनजानका आधारमा युरोपको रोजगारीमा पठाउने भन्दै लाखौं रकम उठाउने र सम्पर्कविहिन हुने गरेका घटना लगातार सार्वजनिक भइरहेका छन् ।
