काठमाडौं । वैदेशिक रोजगारीका लागि पठाउने बहानामा रकम उठाएर ठगेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपेश लामिछाने र हिरा तामाङ छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार रुपेश काभ्रेको पाँचखाल नगरपालिका ३ घर भई काठमाडौं महानगरपालिका ३२ मा बस्दै आएका छन् । यसैगरी हिरा तामाङ भने धादिङको खनेबास घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ६ मा बस्ने गरेको प्रहरीको भनाई छ ।
रुपेशले अष्ट्रेलिया पठाइदिने बहानामा एक जनाबाट ९ लाख रुपैयाँ ठगेको उजुरी प्रहरीमा परेको छ । यसैगरी हिराले स्लोभाकिया पठाइदिने नाममा एक जनाबाट ८ लाख ५० हजार रुपैयाँ उठाएर विदेश नपठाइ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।
उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलब पाउने गरी बिभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्याएको र सम्पर्क विहीन भएको भएको भन्दै पीडितहरुले उजुरी दिएका थिए । सोही उजुरी अनुसार अनुसन्धान गरी उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
