काठमाडौं । बर्षाैको छलफल पश्चात अन्ततः नेपाल र साउदी अरवबीच श्रम सम्झौता हुने भएको छ । सम्झौतामा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी लगायतको प्रतिनिधिभण्डल साउदी अरव प्रस्थान गरेको छ । टोलीमा मन्त्रालयका सहसचिव पिताम्बर घिमिरे र उपसचिव प्रविण कोइराला सहभागि छन् । उनीहरु साउदी अरवमा आयोजित लेवर एक्स्पोमा भाग लिन गएका छन् । सोही अवसरमा श्रम सम्झोतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
नेपाली श्रमिकको मुख्य गन्तव्य मध्येको एक साउदीसँग एक दशक भन्दा लामो समयदेखि श्रम सम्झौताका विषयमा सिलसिलेवार छलफल चलिरहेको थियो । नेपालले श्रम सम्झौता गर्ने प्रयास गरेपनि साउदी अरवले विभिन्न बहाना बनाउँदै त्यसलाई टार्दै आएको थियो ।
साउदीका मानव संसाधन र सामाजिक विकास मन्त्री अहमद बिन सुलैमान अल राज्हीले श्रममन्त्री राजेन्द्रसिंह भण्डारीबीच सम्झौतामा हस्ताक्षर हुने भएको हो।
साउदी अरवमा घरेलु श्रमिकको माग चर्को छ । घरेलु श्रमिकमाथि अत्यधिक शोषण, शारिरीक यातना लगायतका घटना भएपछि नेपाल लगायतका अधिकाँश मुलुकहरुले साउदी अरवमा घरेलु श्रमिक पठाउन बन्देज लगाएका छन् । तसर्थ पछिल्ला केही वर्षयता साउदी अरबले श्रम सम्झौता गर्ने तर घरेलु श्रमिक पठाउनु पर्ने शर्त नेपालसामु राख्दै आएको छ । यही वर्षको जेठमा स्विट्जरल्यान्डको जेनेभामा भएको तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफल क्रममा भने घरेलु बाहेकका क्षेत्रका श्रमिकका सम्बन्धमा सम्झौता गर्ने सहमति भएको थियो।
नेपाली श्रमिकको मुख्य गन्तव्य साउदी अरबमा हाल पाँच लाखको हाराहारीमा नेपाली कार्यरत रहेको अनुमान छ। वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट वार्षिक डेढ लाख हाराहारी श्रमिक साउदी गइरहेका छन्। त्यहाँ मुख्यगरी निर्माण तथा उत्पादन क्षेत्रमा नेपालीले काम गर्ने गरेका छन् ।
