काठमाडौं । सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब रुपैयाँ बराबरको योगदान रकम पुगेको छ। कोषका अनुसार हालसम्म कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ रुपैयाँ पुगेको छ।

कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय नौ पुगेका छन्। यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार एक सय ८९ बराबर पुगेको छ। कोषले हालसम्म रु १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार छ सय ८४ बराबरको रकम दाबी भुक्तानी गरेको छ।

कोषका अनुसार, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम रु दुई अर्ब ५१ करोड २० लाख ९४ हजार आठ सय २२, दुर्घटना तथा अशक्तता दावी रु २२ करोड ८६ लाख ५३ हजार चार सय ७५ बराबर रहेको छ। त्यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम रु २९ करोड सात लाख ७२ हजार एक सय १६ र अवकाश दाबी रकम रु १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार दुई सय ७१ बराबर छ।

सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने बाध्यकारी व्यवस्था गरेपछि कोषमा आवद्ध हुनेको संख्या बढेको हो । स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भइ योगदानकर्ता बन्न सक्छन्।

कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन्। योगदानमा आधारित यो कोषको योजना सञ्चय कोष तथा नागरिक लगानी कोषकै सुविधासँग मिल्ने गरी २०७५ सालमा कार्यान्वयनमा आएको हो ।

कोषले २०७५ मंसिर ११ गतेदेखि संगठित निजी क्षेत्रका प्रतिष्ठान र श्रमिक, २०७९ चैत्र ८ गते देखि वैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेका व्यक्ति र २०८० साउन ३१ देखि अनौपचारिक क्षेत्र, देशभित्र स्वरोजगारीमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरेको थियो। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रस्तावनामा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्ने तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषले कार्य गरिरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय