काठमाडौं । साउदी अरवले सन् २०३४ मा आयोजना हुने विश्व कप फुटवल प्रतियोगितालाई लक्षित गर्दै कफला प्रणालीमा केहि सुधार गरेको छ । साउदीका सबै सहरहरूमा लागु हुन बाँकी भए पनि धेरैजसो सहरमा अनलाइनबाट आवेदन गरेर श्रमिकले रोजगारदाता परिवर्तन वा स्वदेश फिर्तीका लागि प्रक्रिया चाल्न सक्ने व्यवस्था गरेको साउदी अरेवियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

विविसीका अनुसार साउदी स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीका अनुसार अब तीन महिनासम्म तलब नपाएको वा कम्पनी बन्द भएको अवस्थामा श्रमिकहरूले अर्को कम्पनीमा काम गर्न जाने वा स्वदेश फर्कने छुट पाउँछन्।

“यस्तो अवस्थामा कामदार आफैँले अनलाइनबाट आवेदन दिनुपर्छ। अनलाइन प्रणाली चलाउन जानेको अवस्थामा नेपाल फर्कन वा कफिल परिवर्तन गर्न सजिलो हुने हामीले अपेक्षा लिएका छौँ”, उनले भने।

साउदी अरबमा करिब चार लाखको हाराहारीमा नेपाली कामदारहरू रहेको र त्यसमध्ये धेरैले निर्माण क्षेत्र, कृषि क्षेत्र, सेवा र सवारी चालकका रूपमा काम गर्ने गरेको जानकारहरू बताउँछन्। साउदी अरबमा जाने धेरै कामदारहरूमा कम्प्युटर र अनलाइन प्रणालीबारे ज्ञानको अभावका कारण यसको प्रभावकारी उपयोगबारे आशङ्का गरिएको छ।

“खासगरी अन्य देशको तुलनामा कम शिक्षित र कम सीप भएका धेरै श्रमिकहरू साउदी अरब गएका छन्। त्यो हिसाबले हेर्दा अनलाइन आवेदनको प्रक्रिया नेपाली कामदारका लागि जटिल कुरा हो। त्यसमा पठाउने म्यानपावर देखि नेपाल सरकारले पनि जानकारी दिने काम गर्नुपर्छ”, श्रम विज्ञ बस्याल भन्छन्।

रियाद स्थित नेपाली दूतावासका अनुसार कफाला मध्यपूर्वका देशहरूमा अभ्यासमा रहेको रोजगार प्रायोजन प्रणाली हो।

“कफला पद्धति भनेको स्पोन्सरको अनुमति बेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यवसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो”, नेपाली दूतावासले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।यो प्रणालीमा कफिल भनिने प्रायोजकको अनुमति नभएसम्म कामदारले काम परिवर्तन गर्न वा आफ्नो देश फर्कन पाउँदैनन्। अधिकांश प्रायोजकले कामदारको राहदानी पनि लिएर राखेका हुन्छन्।

“कफिलले भिसा उपलब्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसाबमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन। कफिलको अनुमति बेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, अकामा (अस्थायी आवासीय अनुमति पत्र) जारी वा नवीकरण गर्न वा कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिँदैन”, दूतावासले उल्लेख गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय