काठमाडौं । अविरल वर्षापछि इलाम जिल्लामा आएको बाढी र पहिरोले प्रभावित भएका परिवारहरूलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) ले राहत वितरण गरेको छ । गत असोज १८ गतेको अविरल वर्षाका कारण इलाममा आएको पहिरोमा परेर ३९ जनाको ज्यान गएको थियो।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखा र रेड हर्स फुटबल क्लबको सहकार्यमा असोज २३ गतेदेखि विभिन्न चरणमा राहत वितरण गरेको एनआरएनए सचिवालयले जनाएको छ । नेपाल रेडक्रस सोसाइटीको इलाम शाखामार्फत वडा नम्बर ६ को बालन र घोषमा तथा मंगलबारे, सिधिथुम्का, शान्तिडाँडा, माइपोखरी एकतप्पा, दानाबारी उपशाखामार्फत थप राहत वितरण गरिएको हो ।

राहत सामग्रीमा १०० थान त्रिपाल, २०० थान ब्ल्यान्केट तथा १०० थान म्याट रहेका छन्। राहत पाएपछि प्रभावित परिवारहरूले केही सहजता महसुस भएको प्रतिक्रिया दिएका छन्। राहत वितरण कार्यक्रमको समन्वय संघको तर्फबाट कनिष्ठ अधिकृत निरोज महर्जनले गरेका थिए ।

यसैबीच बाढीपहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग अझै सञ्चालनमा आएको छैन। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।

सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय