काठमाडौं । घरेलु श्रमिकका रुपमा रोजगारीका लागि विदेश जान चाहने महिलालाई लाग्दै आएको बन्देजले समस्या समाधान नभई अझ जटिल बनाएको यस क्षेत्रमा कार्यरतहरुले बताएका छन् । संरक्षणका नाममा बर्षौदेखि लगाइएको बन्देजका वावजुद महिलाहरु जोखिमपूर्वक घरेलु श्रम गर्न विभिन्न गन्तव्य मुलुकमा पुगिरहेको उनीहरुको भनाई थियो ।
पौरखी नेपालको २३ औं साधारणसभामा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले मानव तस्करी, मानव बेचविखन र श्रम प्रवासन तीन फरक कुरा भएको र यसलाई स्पष्ट पार्नुपर्नेमा जोड दिइन् । यी तीनवटा विषयलाई गोलमोल बनाएर समस्या झन् जटिल बनाउने काम गरिएको उनको भनाई थियो ।
हालै रोजगारीका लागि हिंडेका ४६ जनालाई भारतबाट फर्काइएको सन्दर्भ उल्लेख गर्दै महिला आयोगकी अध्यक्ष पराजुलीले त्यसरी फर्काइएका मध्ये ७० प्रतिशतले आफूलाई थाहा हुँदाहुँदै गएका बताएको र उनीहरु बाध्यतावस घरेलु श्रम गर्न गैरकानुनी बाटो भएर जान चाहेको विचार प्रकट गरिन् । पराजुलीले प्रश्न गरिन्, “आफैं पैसा खर्च गरेर भारतको बाटो भएर नेपाली महिला किन गइरहेका छन ? यसको अध्ययन गरिन् पर्दैन ?”
उनले महिला आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म शोषण, दमन जारी रहने र स्वदेशमा नै आयआर्जनको उपाय नभएपछि बाध्यतावस जोखिम मोलेर विदेशिनु परिरहेको धारणा राखिन् । उनले महिलाको गतिशिलतामाथि लाग्दै आएको बन्देज हटाउन सबै सांसदहरू, मन्त्रीहरु र प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउन जरुरी रहेको धारणा राखिन् ।
महिलालाई सचेत बनाएर, सीपको विकास गरेर राज्यले अवसर दिने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिंदै पराजुलीले भनिन्, “सबैले विदेश जानुपर्छ भन्ने होइन, नेपालमै काम गर्ने अवस्था बनाउनु पर्छ । यसमा स्थानीय तह, प्रदेश सरकारले पनि काम गर्नुपर्दछ ।”
सो अवसरमा बोल्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जिवि बरालले पौरखी नेपालले महिलाको गतिशीलताको वकालत गर्दै, जीविकोपार्जनमा सहयोग, आश्रय सहयोग लगायतका संवेदनशील मुद्दामा २३ बर्षदेखि निरन्तर काम गर्नु, नीति वकालत गर्नु गर्वको विषय भएको बताए । उनले वैदेशिक रोजगारीका क्रममा अनिश्छित गर्भबाट जन्मेका बालबालिकाको नागरिकता प्राप्तिको लागि पौरखी नेपालले उठाइरहेको आवाजको पनि प्रशंसा गरे ।

सो अवसरमा बोल्दै जिफन्टकी उपाध्यक्ष सीता लामाले नेपालमा काम मर्यादित नहुँदा नेपालीहरू रोजगारीको लागि विदेश गएको भन्दै नेपालमै रोजगारीलाई व्यवस्थित र सम्मानजनक बनाउन आवश्यक रहेको धारणा राखिन् । उनले नेपालमा नियम, कानून राम्रा भएपनि तिनको कार्यान्वयन नभइरहेको बताइन् । उनले रोजगारीमा जानु बाध्यता होइन, चाहना हुनुपर्छ भन्दै राज्यले बनाएको नीति, कानूनको प्रभावकारी कार्यान्वयनका लागि नागरिक समाज, ट्रेड यूनियन लगायतले संयुक्त रूपमा दवावकारी अभियान सञ्चालन गर्नुपर्ने खाँचो औंल्याइन् ।
साधारणसभामा बोल्दै पौरखी नेपालकी रणनीतिक निर्देशक मञ्जु गुरुङले सन् २००३ बाट सुरु भएको पौरखीको यात्रालाई स्मरण गरिन् । उनले सरकार, नागरिक समाज, मिडिया, ट्रेड युनियनहरूका लागि सुरक्षित वैदेशिक रोजगारको विषय मुद्दा नै नरहेको अवस्थामा पौरखी नेपालले काम सुरु गरेको जानकारी गराइन् ।
नेपालको राज्यसत्ता, सामाजिक र साँस्कृतिक अवस्थाहरूमा महिलाको भूमिका सीमित रूपमा राखिएको भन्दै रणनीतिक निर्देशक गुरुङले कहिले प्रतिबन्ध, कहिले पूर्वशर्तहरूले रोजगारीमा जाने महिलाहरूको अधिकार उल्लंघन भएको जसका कारण लुकेर जानुपर्ने अवस्था रहेको भन्दै महिलाले वैदेशिक रोजगारको समग्र चक्रमा विभेद खेप्नु परिरहेको बताइन् ।
पौरखी नेपालकी अध्यक्ष सत्र कुमारी गुरुङले महिलाको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलव्धीमूलक बनाउन सम्पूर्ण क्षेत्रबीच सहकार्यको खाँचो औंल्याएन् । उनले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८ मा नै कसैलाई पनि रोजगारीमा जान निषेध गर्न पाइँदैन भनिएपनि महिलामाथि विभेद कायमै रहेको धारणा राखिन् । उनले पौरखी नेपालले आर्थिक सशक्तिकरण, लैंगिक हिंसाविरुद्ध काम गरिरहेको भन्दै आगामी दिनमा आफ्नै भवनमा सुरक्षित आवासगृह सञ्चालनको लक्ष्य राखिएको जानकारी गराइन् ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष कृष्ण कुमार गुरुङलाई संस्थाको विकासमा पुर्याएको योगदानलाई स्मरण गर्दै सम्मान गरिएको थियो । साधारण सभाले महासचिव सिन्धु अर्याल र कोषाध्यक्ष राजु गुरुङले प्रस्तुत गरेको प्रतिवेदनहरु परीत गरेको थियो । पौरखी नेपाल रोजगारीका लागि विदेश गएर फर्केर आएका महिलाहरुले सञ्चालन गर्दै आएको गैरसरकारी संस्था हो ।

