काठमाडौं । सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरु, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवल र व्यावसायिक प्रशिक्षण केन्द्र, ईटहरीको लागि आर्थिक बर्ष २०८२-८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७ सय २५ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सार्वजनिक गरेको सरकारको निर्णयहरु अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवल र व्यावसायिक प्रशिक्षण केन्द्र, ईटहरीको लागि आ.व. २०८२-८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने समेटिएको छ।
यसैगरी दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिव १ अर्ब २५ करोड नेपाली रूपिया) अनुदान सहायता पनि स्वीकार गर्ने मन्त्रीपरिषदले निर्णय गरेको छ।
यसैगरी आर्थिक वर्ष २०८२-८३ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४६३. ८१ र मध्यम धानको प्रति क्विन्टल ३६२८. ३३ न्युनतम समर्थन मूल्य तोक्ने निर्णय पनि सरकारले गरेको छ।
