
काठमाडौं । बाध्यतावस हुने वैदेशिक रोजगारीलाई अन्त्य गर्ने उद्धेश्यले नै नेपाल सरकारले आन्तरिक रोजगार प्रवद्र्धनको दशक सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन् । यसका लागि श्रम मन्त्रालयले अन्तरिक रोजगार शाखा नै स्थापना गरेको उनले बताए ।
वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गरेका उद्यमीहरुलाई राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालमा केहि दशकयता वैदेशिक रोजगारको विषय नै प्राथमिकतामा परेको भन्दै अव आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने कुरामा केन्द्रीत हुनु आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारमा रहेकाहरुलाई स्वदेश फर्काएर उद्यममा संलग्न गराई रोजगारी सिर्जना गर्नु सरकारको अहिलेको प्राथमिकता भएको जानकारी दिए ।
सो अवसरमा बोल्दै श्रम सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जानु पलायन नभएको भन्दै गलत भाष्य निर्माण गरिएको तर्क गरे । उनले वैदेशिक रोजगारमा गएकाहरुले आर्जन गरेको ज्ञान, सीप, पुँजी र हिम्मतबाट राज्यले लाभ लिनुपर्ने बताए ।
८ जना पुरस्कृत
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गरेका उद्यमीहरुलाई हरेक बर्ष प्रदान गर्दै आएको सर्वोकृत्ष्ट राष्ट्रिय पुरस्कारबाट यस बर्ष झापा, दमकका रविन पोखरेल पुरस्कृत भएका छन् । उनलाई १ लाख ५० हजार नगद सहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसैगरी जनही ७५ हजार नगद सहितको राष्ट्रिय पुरस्कारबाट राजीव खड्का (कोसी), शंकर सिम्खडा (मधेस), कुमार श्रेष्ठ (बागमति), बसन्त बहादुर खड्का (गण्डकी), शोभाकर पौडेल (लम्बिनी), लक्ष्मीप्रसाद ढकाल (कर्णाली) र तर्क सिंह विष्ट (सुदुरपश्चिमाञ्चल) पुरस्कृत भएका छन् । मन्त्रालयले प्रदान गर्ने सो पुरस्कारका लागि मुलुकभरीबाट ५६ जनाले आवेदन दिएका थिए ।