काठमाडौं । चेक रिपब्लिक पठाइदिने नाममा ३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ घर भई काठमाडौं महानगरपालिका ९ बस्ने ३१ वर्षीय नारायण बस्नेत छन्।
उनले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना व्यक्तिबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको अभियोग छ । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बस्नेतलाई सिनामंगलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
यसैबीच आफ्नै मुलुकका नागरिकहरुलाई युरोपका विभिन्न मुलुक पठाइदिने नाममा ठगि गरेको अभियोगमा ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहमद मोस्ताफिजुर रहमान, बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका ४१ वर्षीय मोहमद फराद हुसेन चौधरी र बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हानिफ तथा काठमाडौं महानगरपालिका(८ गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम घर भएका ४७ वर्षीय काजी सहताब हुसेन र बंगलादेश बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मोलिक रहेका छन्।
उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्ट मार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रति व्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितबाट ४५ हजार ५ सय अमेरिकन डलर (करिब ६२ लाख २० हजार रुपैयाँ) लिई सम्पर्कबिहीन भएको अभियोग छ ।
उनीहरूको साथबाट राहदानी १९ थान, मोबाइल ४ थान, ९ हजार ८ सय ५० अमेरिकन डलर , ३९ हजार ९ सय ५ बंगाली टाका र २५ हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
