काठमाडौं, रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र १५ र १६ गते दोश्रो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केर आएकाहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल नेकपा एमालेका २३ वटा भातृ संगठन मध्ये एक हो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
महाधिवेशनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले महाधिवेशनमा ६५ जिल्लाका ६ सय प्रतिनिधि सहभागि हुने जानकारी दिए । महाधिवेशनले नौ जना पदाधिकारी सहित ९९ सदस्यीय केन्द्रीय कमिटी तथा ५ सदस्यीय लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग निर्वाचित गर्नेछ ।
अध्यक्ष अधिकारीका अनुसार महाधिवेशनले आम रिटर्नीहरुको हितका पक्षमा र संगठनको आन्तरिक विषयमा संगठनले लिनुपर्ने भावी कार्यदिशा र कार्यक्रमहरु तय गर्नेछ । उद्यमशीलता सहितको राजनीतिको मुलबाटो कार्यान्वयनका लागि सामुहिक उद्यमका अवधारणाहरु र कार्यान्वयनका आधारहरु पनि महाधिवेशनले तय गर्ने अपेक्षा गरिएको छ ।
अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीमा जानेहरु तथा फर्किनेहरुर्लाइ लाहुरे दृष्टिकोण नहेर्न आग्रह गर्दै उनीहरु भित्रको क्षमतालाई उपयोग गर्दै समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई साकार पार्न आग्रह गरे । यसका लागि सरकारको आगामी निति तथा कार्यक्रम र बजेटमा रिटर्नी लक्षित कार्यक्रमहरु समावेश गर्न उनले आग्रह पनि गरे ।
सो अवसरमा बोल्दै फेडेरेसनका महासचिव जेपी सापकोटाले ४० देखि ४३ लाख रिटर्नीहरु हाल मुलुकमा रहेका हुँदा उनीहरुलाई आर्थिक, सामाजिक तथा राजनीतिक पुनःएकीकरण गर्न जरुरी रहेको बताए । उनीहरुलाई देशको उत्पादनसँग जोड्न आवश्यक रहेको भन्दै सापकोटाले फेडेरेसनले त्यसका लागि विविध काम गरिरहेको जानकारी गराए ।
पत्रकार सम्मेलनका क्रममा दोश्रो महाधिवेशनको लोगो नेकपा एमालेका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन इञ्चार्ज कृष्ण केसीले सार्वजनिक गरे ।
रिटर्नी फेडेरेसन विसं २०७८ सालमा स्थापित संगठन हो । देशका ६५ जिल्लामा संगठन विस्तार भइसकेको फेडेरेसनमा हाल झण्डै ५० हजार सदस्य रहेको जनाइएको छ । हाल सो संस्थाका पाँचवटा प्रदेश कमिटी, ५८ वटा जिल्ला कमिटी, झण्डै २ सय ५० वटा पालिका कमिटीहरु गठन भइसकेका छन् । वैदेशिक रोजगारबाट फर्केकाहरुलाई संगठित गर्दै सामाजिक अभियान अगाडी बढाउने उद्धेश्यले विसं २०७४ सालमा रिटर्नी माइग्रेण्ट नेपाल (आरएमएन) स्थापना भएको थियो । सोही अभियानको नेतृत्वमा रहेकाहरु मध्ये अधिकारी लगायतका व्यक्तिहरुले राजनीतिक अधिकारमा रिटर्नीहरुलाई जोड्न आवश्यक रहेको भन्दै नेकपा एमालेको भातृ संगठनका रुपमा रिटर्नी फेडेरेसन बनाएका हुन् ।
