
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासमा जोड दिएका छन् । उनले जागिर मात्र खोज्ने प्रवृत्तिले देश उँभो नलाग्ने बताए । उनले रोजगारीको अवशरहरु सिमित मात्र हुने भन्दै स्वरोजगारका लागि उद्यमशीलता जरुरी रहेको बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै प्रधानमन्त्री ओलीले रोजगारी आकाशबाट खस्ने नभई सीप विकासलाई उद्यमशीलतासँग पनि जोड्न जरुरी रहेको धारणा राखे । उनले सरकारी र सार्वजनिक क्षेत्रमा रोजगारी सिमित रहेको भन्दै त्यसलाई पर्खेर बस्दा बर्षौं खेर जाने तर्फ ध्यानाकर्षण गराए । उनले हरेक मान्छेले अरुले दिने जागिर खोजेर प्राप्त नहुने बताए । प्रधानमन्त्री ओलीले भने, जागिर खान्छु होइन, आफैं केहि गर्छु भन्ने हुनु पर्दछ ।
प्रधानमन्त्री ओलीले परिस्थितिमा परिवर्तन ल्याउन उद्यमशीलता नै प्रवद्र्धन गर्नु जरुरी रहेको भन्दै रोजगारी सिर्जना गर्नु सरकारको दायित्व रहेको बताए । उनले अहिलेको दशक उद्यमशीलताको अभिवृद्धिको दशक रहेको भन्दै समयको आवश्यकता अनुसार अगाडी बढ्न पनि उद्यमशीलता जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले बैंकहरुको काम गराईको तौरतरिका पनि फेरिन जरुरी रहेको धारणा राखे । बैंक खराव साहु जस्तो हुन नहुने भन्दै कुनै ऋणीलाई अप्ठ्यारो पर्दा ऋण असुलीमा हतार नगर्न सुझाए । त्यस्तो अवस्थामा थप मद्धत गरेर टिकाउनु पर्ने भन्दै ओलीले खराव ऋणीको सूचि निकाल्नुको साटो खराव साहु नहुन बैंकहरुलाई आग्रह गरे ।