
काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–२ घर भई बुढानीलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने शालिकराम बानियाँ र मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ घर भई कीर्तिपुर नगरपालिका–१४ भोभार बस्ने एलिना पुरी रहेका छन् ।
प्रहरीका अनुसार शालिकरामले अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट ५ लाख रूपैयाँ र एलिनाले १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।