
काठमाडौँ — सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगसँगै मानव बेचबिखनविरुद्धको अभियानमा नयाँ चुनौतीहरू देखा परिरहेका सरोकारवालाले बताएका छन् ।
नयाँ प्रविधिसँगै थपिएका चुनौतीहरूलाई चिर्न नयाँ ढंगले अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ । मानव बेचबिखनविरुद्धको अभियानकी अगुवा अभियन्ता स्वर्गीय सुनिता दनुवारको स्मृतिमा बुधबार काठमाडौँमा भएको ‘सुनिता दनुवार स्मृति लेक्चर श्रृंखला-१’ मा वक्ता र सहभागीहरूले मानव बेचबिखनविरुद्धको अभियानमा देखिएका नयाँ चुनौतीहरूका विषयमा छलफल गरे ।
मानव बेचबिखनबाट प्रभावितहरूको अगुवाईमा खुलेको शक्ति समूहकी संस्थापक अध्यक्ष रहेकी सुनिता दनुवार र उनीजस्तै पीडितहरूका सवाल राज्यको मूल प्रवाहमा छुटेको सहभागीहरूको भनाइ छ । कार्यक्रममा समाजशास्त्री मीना पौडेलले मानव बेचबिखन अपराध, यसबाट पीडित सुनिता दनुवारहरू र उनीहरूले हाँकेको आन्दोलनका विषयमा स्पष्ट पारिन् ।
उनले बेचबिखन अपराधकोरुपमा सिंगो मानव समाजकै समस्या भएपनि राज्यले त्यसबाट पीडित महिलाहरूको मात्रै समस्याकोरुपमा हेरेको आरोप लगाइन् । ‘बेचबिखनमा परेकी महिलाले समाजमा ठाउँमा पाउने अवस्था अझै पनि छैन । सुनिताहरूको समयमा झन् हुने कुरै भएन । परिवारले दोष नै लगाउँछ । समाजले बेचबिखन गर्नेलाई होइन, उही पीडित महिलालाई दोष दिन्छ,’ पौडेलले भनिन्, ‘अनि राज्यले पनि बेचबिखन रोक्नेभन्दा पीडितहरूमाथि तिमीहरूले गर्दा देशको नाम खराब भयो भनेजसरी दुर्व्यवहार गर्छ । यो अवस्थाबाट उठेर सम्मानपूर्वक बाँच्ने वातावरण पाउन पीडितहरूका लागि ठूलो संघर्षको कुरा हो । त्यो ठूलो आन्दोलन हो ।’