
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१२ बस्ने ४६ वर्षीया कल्पना रावत रहेका छन्।
पक्राउ मध्ये सरोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६४ हजार रुपैयाँ र कल्पनाले अल्बानिया पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ७ लाख ८२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार र कल्पनालाई ललितपुर महानगरपालिका-१५ बाट आइतबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
यसैबीच वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका– १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका– ४ बस्ने २४ वर्षीय मनीषराज खड्का, रुकुम पश्चिम मुसिकोट नगरपालिका– २ घर भई काठमाडौं टोखा नगरपालिका– ३ बस्ने २७ वर्षीय मधुकुमार खड्का र ३४ वर्षीय वीरेन्द्र खड्का रहेका छन् ।
उनीहरूले अमेरिका पठाइदिछु भन्दै दुईजना पीडितहरूबाट एक करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनीषराजलाई काठमाडौं महानगरपालिका– ९ बाट तथा मधुकुमार र वीरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका– ८ बाट पक्राउ गरेको हो ।