
काठमाडौं, प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली आम जनता पार्टीको तर्फबाट साँसद प्रभु साहको प्रश्नमा आक्रोशित भएका छन् । उनले साँसद साहको प्रश्नहरुको उत्तर दिइरहन जरुरी नरहेको बताए ।
आइतवार प्रतिनिधिसभामा साँसदहरुको प्रश्नहरुको जवाफ दिने क्रममा साँसद साहले वर्तमान सरकार र प्रधानमन्त्री माथि गम्भीर आरोप लगाएका थिए । उनले वर्तमान सरकारले हुण्डी नियन्त्रण नगरेर विदेशमा काम गर्ने नेपाली युवालाई कालो धन साट्ने माध्यम बनाएको, श्रम सम्झौता गर्दा ट्रेड यूनियन अधिकार सुरक्षित नगरेको र नेपाली श्रमिकलाई दासताको अवस्थामा धकेल्दा के लाभ पाउनु भएको छ भनेर प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले झोक्किंदै आफू के मेनपावर कम्पनीको मान्छे हो भन्दै प्रतिप्रश्न गरेका थिए । उनले रोजगारीका लागि विदेश गएका ७० लाख व्यक्ति के आफू प्रधानमन्त्री भएको पछिल्लो ८ महिनामा गएको हो भन्दै थप प्रश्न गरे । प्रधानमन्त्री ओलीले साँसद साहका प्रश्नहरु उनको मनमा रहेको विरोध, आक्रोशले भरिएको भन्दै ति प्रश्नहरु अपमानजनक समेत रहेको तर्क गरे ।
यस्तो छ साँसद साहको प्रश्न र प्रधानमन्त्री ओलीको जवाफः
प्रभु साह, आम जनता पार्टी:
– ७० लाख भन्दा बढी युवाहरु अहिले विदेशमा छन् । उनीहरुको श्रम सम्झौता अनुसार प्रत्येक बर्ष झण्डै ४० खर्व भन्दा बढी रेमिट्यान्स नेपाल आउनु पर्ने हो । तर अहिलेसम्मको रीपोर्ट बुझ्दा यो बर्ष १३ देखि १४ खर्व मात्र आउने सम्भावना छ । हाम्रा नेपाली युवाहरुले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुण्डी मार्फत खुलेआम कालोधनसँग मिलान भइरहँदा तपाई किन मौन बस्नुभयो ? नेपाली युवाहरु कालो धन साट्न विदेशमा मरिरहेका छन् ? हैन भनें संख्याको अनुपातमा किन रेमिट्यान्स नेपाल आएन ? विदेशमा रोजगारीका लागि जाने मजदुरले त्यहाँ ट्रेड यूनियनको हक पाएको छैन । किन त्यस्तो हक संरक्षण नहुने गरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१ औं शताव्दीमा नेपाली मजदुरलाई दासताको अवस्थामा धकेल्दा तपाईहरुले के कति लाभ पाउनु भयो ?
प्रधानामन्त्री केपी शर्मा ओलीः
– उहाँका प्रश्नहरु उहाँको मनमा रहेको विरोध, आक्रोशहरु आदीले अपमानजनक समेत रहेका छन् । संसदजस्तो गरिमामय ठाउँमा यस्तो भाषा(तपाईलाई के लाभ भयो ?), विदेश पठाएर जस्तो भाषा ? म मेनपावर कम्पनीको मान्छे हो ? यो म सरकारमा आएपछि ८ महिनाबाट सुरु भएको हो यो ? तपाईले भनेको ७० लाख ८ महिनामा गएका हुन् ? उहाँले गर्नुभएको प्रश्नमा खासै जवाफ दिइरहनु आवश्यक छैन । आफैंले जवाफ बोकेर आउनुभएको छ । त्यसैले मैले धेरै उत्तर दिइरहनु परेन । यहाँलाई धन्यवाद छ ।