
काठमाडौं, कतारमा अलेखवद्ध (भिसाको म्याद सकिएका वा गैरकानुनी रुपमा प्रवेश गरेका) रुपमा बसिरहेका आप्रवासीहरुलाई विना जेल सजाय, विना आर्थिक जरिवाना स्वदेश फर्किन तीन महिनाको समय दिएको छ । कतारको आन्तरिक मामिला सम्वन्धी मन्त्रालयले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।
मन्त्रालयले जारी गरेको सुचना अनुसार कतारको कानुन नं २१, सन् २०१५ को व्यवस्था अनुसार प्रवेश वा आवासिय अनुमति सम्वन्धी व्यवस्था उल्लंघन गरी कतारमा बसिरहेका आप्रवासीहरुले स्वदेश फर्किन तीन महिना भित्रमा आवेदन दिन सक्नेछन् । यस अनुसार भिसाको म्याद सकिएर अवैधानिक रुपमा कतारमा बसिरहेकाहरुका लागि स्वदेश फिर्ति सहज हुनेछ ।
यस्तो समय आइतवार (फेब्रुअरी ९, २०२५) देखि नै लागु हुनेछ । यस अन्तर्गत स्वदेश फर्किन चाहनेहरुले साल्वा रोडमा रहेको सर्च एण्ड फलोअप डिपार्टमेण्टमा कार्यालय खुल्ने दिन अपरान्ह १ बजेदेखि ९ बजेसम्म सम्पर्क गर्न सक्नेछन् । यो सुविधा लिन चाहनेहरु हमद अन्तराष्ट्रिय विमानस्थलमा जान सक्ने मन्त्रालयले जारी गरेको सुचनामा जनाइएको छ ।
यस्तो सेवा लिन चाहनेहरुले दोहास्थित नेपाली दूतावासमा सम्पर्क गरी प्रकृयाका विषयमा जानकारी लिनु उचित हुन्छ ।