काठमाडौं, कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले एक कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । अमिरी दिवान (राजप्रासाद कार्यालय) मा आयोजित उक्त समारोहमा राजदूत पौडेललाई गार्ड अफ अनरले स्वागत गरिएको थियो।

ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात् राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले खेलेको नेतृत्वदायी भूमिकाप्रति हार्दिक आभार व्यक्त गर्दै हमासद्धारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गरे ।

भेटमा अमिरसँगको शिष्टाचार भेटको क्रममा राजदूत पौडेलले अमिरको अप्रिल २०२४ मा भएको नेपाल भ्रमणबाट नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र कतारी जनताको उत्तरोत्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।

राजदूत पौडेलले आफूलाई न्यानो स्वागत गरेकोमा अमिर र कतार सरकारलाई धन्यवाद व्यक्त गर्दै नेपाल र कतारबीचको घनिष्ठ र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन आपसी सहयोगका विविध क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कतारका अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतारका लागि नेपालको राजदूत नियुक्त भएकोमा बधाई दिँदै विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने जानकारी दिए । अमिर तामिमले मध्यपूर्वमा स्थायी शान्तिको लागि कतार निरन्तर प्रयत्नरत रहने प्रतिबद्धता जाहेर गरे । आफ्नो नेपाल भ्रमणबाट अत्यन्त हर्षित भएको बताउँदै उनले कतारमा नेपाली आप्रवासी समुदायलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

सो भेटमा अमिरी दिवान तथा कतारको परराष्ट्र मन्त्रालयका पदाधिकारी एवं कतारस्थीत नेपाली दूतावासका उपप्रमुख कुमार राई सहभागी थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय