काठमाडौं, गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनमा गैरआवासीय नेपालीका लागि संविधानले सुनिश्चित गरेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कार्यान्वयनका लागि सरकारका तर्फबाट पेश हुन लागेको भनिएका विभिन्न विधेयकलाई प्राथमिकतामा राखी अघि बढाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ । संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख घिमिरेसँग गत मंगलवार गरेको भेटका क्रममा यस्तो आग्रह गरेको हो ।

भेटमा संघका अध्यक्ष डा केसीले संविधान अनुसार गैरआवासीय नेपालीलाई दिइएको अधिकार कार्यान्वयनसँग सम्बन्धित दर्जन बढी विधेयक संसदमा पेश गर्न लागेको आश्वासन सरकारबाट पाएको हुँदा तिनलाई प्राथमिकता दिन आग्रह गरेका थिए । उनले यसो हुन सकेमा संविधानले दिएको अधिकार उपभोग गर्ने गैर आवासिय नेपालीका लागि मार्ग प्रशस्त हुन सक्ने बताए ।

सो अवसरमा सभामुख घिमिरेले गैरआवासीय नेपाली संघले उठाएका विभिन्न विषयहरुका बारेमा जानकारी लिई सकारात्मक रुपमा सहजीकरण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भेटका क्रममा अध्यक्ष केसीले संघको आगामी अक्टोवर ११ देखि १४, २०२५ मा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनका बारेमा समेत जानकारी गराएका थिए ।

यसैबीच संघका अध्यक्ष केसी सहितको टोलीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरी सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गरेका छन् । मंगलबार नै भएको भेटमा अध्यक्ष केसीले संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरु थप निराश भएको बताएका थिए ।

भेटमा पूर्व प्रधानमन्त्री देउवाले केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए । संविधानले नै अधिकार दिएको भन्दै देउवाले ति कार्यान्वयनमा जे जस्ता समस्या छन् तिनिहरुलाई आगामी हिउँदे अधिवेशनबाट हल गर्ने आश्वासन दिएका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय