
काठमाडौं, रोजगारीका लागि पोल्याण्ड पठाइदिने नाममा रकम ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सप्तरी बिष्णुपुर गाउँपालिका ७ घर भई हाल काठमाडौं महानगरपालिका ३१ मा बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई हाल काठमाडौं महानरगपालिका २६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम हुन् ।
पक्राउ परेकाहरु मध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ र राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबाहिर रहेको प्रहरीमा उजुरी परेको छ । पीडितको उजुरी पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका ३१ बाट र राजेशलाई काठमाडौंको टेकुबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।