काठमाडौं, आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमारको मेवाडी पुर्याइएका पाँच जना नेपालीको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा एकजना महिला तथा चारजना पुरुष छन् । उद्धार गरिएकाहरुलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको थाइल्याण्डका लागि नेपाली राजदूत धन बहादुर ओलीले जानकारी दिएका छन् ।
‘म्यानमारबाट उद्धार गरिएकाहरुलाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएको थियो । उनीहरुलाई थाइल्णडको सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा गत १७ डिसेम्बरमा नेपाल फर्काइएको थियो । यसैगरी एकजना महिलालाई आज अर्थात २४ डिसेम्बरका दिन नेपाल फर्काइएको हो ।
थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब सुविधा दिने प्रलोभन देखाई नेपालीहरूलाई म्यान्मारको कायिन प्रान्तको मेवाडी पु¥याएर जबरजस्ती अवैध काममा लगाउने गरिएको छ । त्यसैले सोमबार मात्रै परराष्ट्र मन्त्रालयले भ्रमपूर्ण विज्ञापन र आश्वासनमा नफस्न अनुरोध गर्दै ट्राभल एडभाइजरी जारी गरेको थियो ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो पैसा कमाउने भनेर कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा रोजगारीमा नजान बैंककस्थित राजदूतावासले सबैलाई अनुरोध समेत गरेको छ ।
