
काठमाडौ, सरकारले थाइल्याण्ड, कम्बोडिया, म्यान्मार, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपालीलाई यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) जारी गर्दै सचेत रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार तीनबुँदे ट्राभल एड्भाइजरी जारी गर्दै ति देशहरुमा जाने नेपालीलाई सावधानी अपनाउन सचेत गराएको हो । पछिल्लो समयमा आकर्षक रोजगारीको प्रलोभनमा ति मुलुकहरुमा लैजाने र बन्धक बनाउने सम्मका घटनाहरु सार्वजनिक भइरहेको सन्दर्भमा सरकारले यस्तो सचेत गराएको हो । पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मार लगायतका मुलुकहरुमा लगेर जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको सुचनामा आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएई लगायतका मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याँगुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सचेत गराइएको जनाइएको छ ।
मन्त्रालयका अनुसार ति मुलुकहरुमा पुर्याएपछि रोजगारदाताले राहदानी खोसिदिने, १२, १३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याँगुन र बैंककमा आवेदन दिने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने, गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न, नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ । सामाजिक सञ्जालहरूमार्फत विभिन्न स्थानमा रहेका एजेन्टहरुले प्रभावमा पार्ने गरेको भन्दै मन्त्रालयले सामाजिक सञ्जालमा त्यसरी प्रचार गरिएका नक्कली रोजगारीको प्रलोभनमा नपर्न समेत आग्रह गरेको छ ।