काठमाडौँ, अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस अन्तर्गतको सप्ताहव्यापी कार्यक्रम आइतवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालले वैदेशिक रोजगारीका गएका श्रमिकको सामाजिक सुरक्षा सम्वन्धी छलफल आयोजना गरि सप्ताहव्यापी कार्यक्रम समापन भयो । मूल समारोह समितिका अनुसार सुरक्षित आप्रवासको आधार, सूचना र सीप सहितको रोजगार भन्ने मूल नारा सहित श्रम आप्रवासनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा देशव्यापी रुपमा विविध कार्यक्रमहरु आयोजना गरिएको जानकारी दिइयो ।

समापन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सप्ताहव्यापी कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुगेको धारणा राखे । उनले वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार वैदेशिक रोजगारीका क्रममा १४ हजार भन्दा धेरै व्यक्तिकोे मृत्यु भएको र ३४ सय भन्दा बढीको गम्भीर रुपमा विरामी वा अंगभंग भएको भन्दै त्यस्तो अवस्थामा सामाजिक सुरक्षाले संरक्षण गर्नु जरुरी रहेको बताए । उनले आप्रवासी श्रमिकले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताउँदै आप्रवासी श्रमिकको हित र सुरक्षामा राज्य सचेत रहेको पनि बताए ।

सो अवसरमा सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले वैदेशिक रोजगारीमा रहेका आप्रवासी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा संलग्न गराउन गरिएको पहल, कोषले उपलव्ध गराइरहेका सुविधा लगायतका विषयमा जानकारी गराए । श्रमिक र उनीहरुको परिवारको सम्पूर्ण सुरक्षालाई ध्यान दिंदै वैदेशिक रोजगारमा जाने श्रमिकलाई सामाजिक सुरक्षामा अनिवार्य सूचिकरणको व्यवस्था गरिएको भएपनि जनचेतनाको अभावमा अझै पनि त्यो प्रभावकारी हुन नसकेको उनको भनाई थियो ।

समापना समारोहमा वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव टिकाराम ढकालले वैदेशिक रोजगार बोर्ड, बिमा तथा सामाजिक सुरक्षा कोषले प्रदान गर्ने कल्याणकारी सेवालाई एकिकृत गर्न जरुरी रहेको बताए । उनले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकलाई कल्याणकारी कोषमार्फत सहयोग गरिरहेको विषयमा जानकारी दिए ।

यसैगरी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समारोह उपसमिति संयोजक रहेकी सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालकी महासचिव चाँदनी रानाले सप्ताहव्यापी रुपमा आयोजना गरिएका महत्वपूर्ण कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै यस्ता कार्यक्रमहरूले वर्षैभरि निरन्तरता पाइरहने जानकारी गराइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय