
काठमाडौ, श्रमिकको सुरक्षासॅग महत्वपूर्ण सम्वन्ध राख्ने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी नीति भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको यस क्षेत्रमा कार्यरतहरुले औल्याएका छन ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले आयोजना गरेको वातावरण, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी राष्ट्रीय कार्यशालामा बोल्दै वक्ताहरुले यसमा जोड दिएका हुन् ।
सो अवसरमा बोल्दै श्रम सचिव मुकुन्द प्रसाद निरौलाले वातावरण र स्वास्थ्य एकापसमा अन्तर सम्बन्धित रहेको बताए । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षाको पालना कार्यस्थलमा भए नभएको अनुगमन गर्ने गरिएको र पालना नभएमा कारवाहि गर्ने गरिएको जानकारी दिए । श्रमिकलाई पनि सचेत बनाउन प्रशिक्षण आवश्यक रहेको उनको भनाई थियो ।
यस अगाडी कार्यशालाको उद्घाटन सत्रमा बोल्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) का उपाध्यक्ष जनक चौधरीले नेपालमा वातावरण ऐन, स्वास्थ्य ऐन तथा नीतिहरुबीचमा तादात्म्यता नभएको धारणा राखे । उनले नीति, कानुनमा भएका कुराहरु आम श्रमिकहरुसम्म नपुगेको बताए ।
यसैगरी नेपाल ट्रेड यूनियन कांग्रेसका महासचिव अजय कुमार राईले व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी नीति कार्यान्वयन हुन नसकेको धारणा राखे ।
आईएलओका वरिष्ठ कार्यक्रम संयोजक सलोमन राजवंशीले व्यवसायजन्य स्वास्थ्य र सुरक्षा श्रमिकको जीवनसॅग जोडिएको महत्वपूर्ण विषय भएको बताए। कामलाई मर्यादित बनाउन व्यवसायजन्य स्वास्थ्य र सुरक्षा एउटा शर्त रहेको उनको भनाई थियो । उनले आईएओले सरकार र ट्रेड यूनियनहरुसॅग निकट भएर काम गरिरहेको बताए ।
सो अवसरमा बोल्दै जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निदेशक रामचरित्र साहले स्वास्थ्य, वातावरण, राष्ट्रीय, अन्तरराष्ट्रीय नीतिको जानकारीका साथै गर्नुपर्ने सुधारका विषयमा कार्यशालामा छलफल हुने र निश्कर्ष तयार पारिने बताए ।
सो अवसरमा जिफण्टकी सचिव बेलि घलेले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको पालना गर्नेहरुलाई पुरस्कार र नगर्नेहरुलाई दण्ड गरिनुपर्ने धारणा राखिन । उनले हाल कार्यान्वयनमा रहेको नीलिमा रहेको खाडलको अध्ययन गरिरहेको भन्दै त्यसलाई ग्रहण गरी कार्यान्वयन गर्न श्रम मन्त्रालयबाट आग्रह गरिन ।
राष्ट्रीय कार्यशालामा ट्रेड यूनियनहरुका प्रतिनिधिहरु, जनस्वास्थ्यको विषयमा कार्यरतहरु लगायत सहभागि छन ।