
काठमाडौं, सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले यस्तो जानकारी दिएका हुन् ।
अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान–श्रीमती र १८ वर्ष नकटेका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको बताए ।
यसैबीच सोमवारसम्ममा औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । यो संख्या निरन्तर बृद्धि भइरहेको अधिकारीले जानकारी दिए । श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत हालसम्म ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई कोषले भुक्तानी गरिसकेको छ ।