काठमाडौ, फ्रि भिषा फ्रि टिकटमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट तादी गाउँपालिका–५ घर भएकी ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोक चौतारा नगरपालिका–६ घर भएका ५० वर्षीय सकुलाल भन्ने माईला लामा तामाङ रहेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले माईलालाई बिहीबार र कुसुमलाई शुक्रबार काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो।
उनीहरूले पीडितलाई मासिक १ सय २० कुवेती दिनार तलबमा काममा लगाइदिने भनि प्रलोभन देखाई ९ सय कुवेती दिनार लिई २०८० साउन ४ गते नेपालबाट दुबई हुँदै कुवेतको अलजारा पुर्याई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।