काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताका लागि उच्चस्तरीय समितिको बैठक मंगलबार बस्दैछ । पूर्वअध्यक्ष तथा समितिका संयोजक शेष घलेले मंगलवार दिउँसो ३ बजे संघको बालुवाटारस्थित सचिवालयमा बैठकका लागि आव्हान गरिसकेका छन् ।
बैठकबाट सबै पक्षबीच एकताको आह्वान गर्दै सर्वोच्च अदालतको फैसलाअनुसार एकताको १० औँ महाधिवेशन गर्नका लागि सकारात्मक पहलकदमी लिने गरी अघि बढ्ने घलेको तयारी रहेको जनाइएको छ ।
सर्वोच्च अदालतले गैर आवासिय संघले गठन गरेको घले नेतृत्वको उच्चस्तरीय समितिलाई संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी एकतापूर्ण महाधिवेशन गर्न आदेश दिइसकेको छ । सर्वोच्चको साहि फैसला अनुसार एकता महाधिवेशनका लागि गत कात्तिक १ मा परराष्ट्र मन्त्रालयले संघ र घलेलाई पत्राचार गरेको थियो ।
घले नेतृत्वको उच्चस्तरीय समितिमा १३ जना छन् । समितिका सदस्यहरूमा डा. उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा, कुमारप्रसाद पन्त, विनोद कुँवर, उमेश कुमार पुडासैनी, जानकी गुरूङ, कुल आचार्य, डा बद्री केसी र रविना थापा रहेका छन् । एनआरएनएमा हाल बद्री केसी, आरके शर्मा र विनोद कुँवर गरी तीन वटा समूह छन् जसले आफूलाई अध्यक्ष दावी गर्दै आएका छन् ।