काठमाडौं, कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहित ७ जनाविरुद्ध प्रहरीले दुईवटा कसुरमा अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतबाट उनीहरुलाई दुईवटा कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको हो। उनीहरु विरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ को उपदफा २ को (ग) र मुलुकी अपराध संहिता २०७४ को लिखत सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको हो ।
जिल्ला अदालत काठमाडौँले मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। यसअघि पक्राउ परेका ६ जनालाई पनि सोमबारसम्म हिरासतमा राख्न प्रहरीले अनुमति लिइसकेकाले मन्त्री अधिकारीलाई पनि सोही मितिसम्म म्याद लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
निवर्तमान मन्त्री अधिकारीलाई पक्राउ गर्नुपहिले नै प्रहरीले उनीसँगै जापान गएका तीनजना र नक्कली कागजात तयार गर्ने तथा रकम असुलेर जापान पठाउनमा संलग्न तीन जनालाई पक्राउ गरेको थियो।
जापानको विमानस्थलबाटै अध्यागमन विभागले फर्काएका खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाउँपालिका २ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका ५ का २१ वर्षीय कन्चन देवकोटा सुरुमा पक्राउ परेका थिए।
उनीहरूलाई विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान गर्दा थप व्यक्तिको संलग्नता खुलेको थियो। उनीहरूमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका ७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका ९ का ३० वर्षीय वीरबहादुर सुनुवार रहेका छन्।
कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेको अधिकारी जापानमा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर २०२४’ मा सहभागी हुन तीन युवासहित हङकङ हुँदै नारिता अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।