
काठमाडौं, मलेसियाले नयाँ विदेशी कामदारको कोटा स्थगित गरेको छ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुतिओन इस्माइले गृह मन्त्रालय (केडीएन) ले नयाँ विदेशी कामदार कोटा स्थगित गरेको जनाएक हुन् ।
मलेसियाको सञ्चार माध्यम मलेमेलका अनुसार त्यहाँको अर्थ मन्त्रालयले डिसेम्बरसम्मको लागि २५ लाख विदेशी श्रमिकको सीमा तोकेको छ । गृहमन्त्री इस्माइलले हालसम्म, मलेसियामा २४ लाख विदेशी श्रमिक दर्ता छन् । अव ९० हजार मात्र विदेशी श्रमिकको कोटा बाँकी रहेका कारण नयाँ श्रमिक नलिन खोजिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । मलेसियाले गत सेप्टेम्बरदेखि नयाँ कोटा जारी गर्न स्थगित गरेको छ ।
गृहमन्त्री इस्माइलका अनुसार मन्त्रालयले सेप्टेम्बरदेखि नै कुनै पनि नयाँ आवेदन लिएको छैन र विशेष गरी कृषि, बगान, निर्माण, र सेवा क्षेत्रहरूमा माग पुनः मूल्याङ्कन गर्न त्रैमासिक समीक्षा गर्ने तयारी छ । तर पाँच क्षेत्रहरूमध्ये कृषि र बगान क्षेत्रहरूमा श्रमिकको अभाव भइरहेको पनि गृहमन्त्री इस्माइलले बताएका छन् ।
कृषि मन्त्री जोहरी अब्दुल घानीले यसअघि यी क्षेत्रहरूका लागि विदेशी श्रमिकको अभाव रहेको भन्दै त्यसका लागि पुनर्विचार गर्न आग्रह गर्दै आएका छन् । यसमा गृह मन्त्रालय र मानव संसाधन मन्त्रालय सकारात्मक रहेको उनको भनाई थियो । मलेसियाले लिन सक्ने थप ९० हजार विदेशी श्रमिक विशेषगरी पाम तेल र रबर उद्योगहरूमा उपलव्ध गराउन सकिने मलेसिया सरकारको तयारी छ । तर ति क्षेत्रको काममा खासै नेपाली जाने गरेका छैनन् । त्यसैले मलेसियाको नयाँ माग नेपालका लागि प्राथमिकतामा पर्नेछैन ।