
काठमाडौं, कम्बोडियामा पक्राउ परेकी बिनु शाक्यलाई प्रहरीले नेपाल ल्याएको छ । वैदेशिक रोजगारी ठगी लगायतका मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गराइ पक्राउ गरिएकी शाक्यलाई आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यलयले सोमबार जनाएको छ ।
शाक्यले वैदेशिक रोजगारीका लागि सिंगापुर पठाईदिन्छु भनेर ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड भन्दा बढी रकम ठगी गरी फरार भएको आरोप छ । सो अभियोगमा शाक्य र उदयपुर त्रियुगा नगरपालिका १० ठेगाना भएका सुजन आचार्य समेत विरुद्ध २०८० माघ १९ गते रेड कर्नर नोटिस जारी भएको थियो ।
गत असोज १ गते कम्बोडियामा पक्राउ परेका दुई जना मध्ये सुजनलाई गत कात्तिक ९ गते नै नेपाल ल्याइसकिएको छ। बिनुलाई सम्बन्धित कसूरमा कानून बमोजिम कारवाहीका लागि प्रहरी वृत्त कालिमाटीमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।