काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभा काठमाडौँमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्।
गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए। प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह पनि गरे।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट संघमा कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररूपमा काम गर्न आग्रह पनि गरे। उनले भने, ‘म अहिले प्रधानमन्त्री छु। म देशको प्रधानमन्त्री हो। एमालेको मात्रै प्रधानमन्त्री होइन। राष्ट्रपति पनि त्यही हो। राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ। सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन्। हामीले त्यस हैसियतले काम गर्ने हो।’
‘सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप हुँदैन, गर्दैन। तपाईँहरूले राजनीतिक दलको राजनीति संघमा नगरिदिनू,’ उनले भने, ‘एनआरएनएको पदाधिकारी दलको होइन, संस्थाको हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन केके गर्नुपर्ने हो, प्रस्ताव ल्याउन आग्रह गरेका छन्। उनले संसदबाट ऐन संशोधन गर्न पनि तयार रहेको बताए। एनआरएनएलाई नेपालमा काम गर्नको लागि पूर्वधार तयार भइसकेको भन्दै ढुक्कसँग लगानी गर्न पनि उनले आह्वान गरे।
विशेष अतिथि गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली अवैतानिक दूतको रूपमा विश्वभर पुगेर राष्ट्रलाई योगदान गरेको बताए। ‘गैरआवासीय नेपाली विश्वभर अवैतानिक दूतको रूपमा हुनुहुन्छ। नेपाललाई कसरी देखाउनुहुन्छ, नेपालको इमेज त्यस्तै बन्छ,’ गृहमन्त्री लेखकले भने।
गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको उनको भनाइ थियो। ‘अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार पाएको छैन,’ उनले भने, ‘संविधानमै भएको व्यवस्था कार्यन्वयन गर्न आगामी अधिवेशनमा संशोधन प्रस्ताव लैजान सक्छौँ।’
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने मुख्य विषयमा केन्द्रित रही एनआरएनए डे र वार्षिक साधरणसभा सुरु भएको हो।
उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रूपमा जति सफल भए पनि देश सफल हुनुपर्ने उद्देश्यले एनआरएनए अभियान सुरु भएको स्मरण गर्दै सुरुमा मुटुबाट सोचे पनि पछिल्लो समय बौद्धिकता लगाउँदा संघमा समस्या आएको बताए।
‘हामीले विदेशको धनाढ्य, ठूलो विश्वविद्यालयको प्रोफेसर भनेर नेपालमा मन्त्रालय, विश्वविद्यालयलाई सुझाव दिने गरेका छौँ,’ महतोले भने, ‘तर अभियानलाई नै सँगै राख्न सकेनौँ। सबैले संकल्प गरौँ, देश समृद्ध नभएसम्म केही हुँदैन।’ उनले छिटै नै एकजुट भएर गैरआवासीय अभियानलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।